काठमाडौं,२० मंसिर। नवलपुरको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वनमा एकैदिन नौ वटा मृग मृत अवस्थामा फेला परेका छन्।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार प्रारम्भिक अनुसन्धानले किसानले तोरीमा छरेको विषादी खाएर मृग मरेको आशंका गरिएको छ। मृगहरूको शरीरमा कुनै पनि बाहिरी चोटपटक नदेखिएको हुँदा विषादी सेवन नै मुख्य कारण हुनसक्ने निकुञ्जको भनाइ छ।
आहार प्रजातिमा पर्ने मृगको यस्तो ठूलो संख्यामा मृत्यु भएपछि विस्तृत अनुसन्धान अघि बढाइएको जनाइएको छ। मृगको मृत्युको कारण सुनिश्चित गर्न पोस्टमार्टम गरिएको र नमुना परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला, काठमाडौँ पठाइएको अधिकारी थापाले जानकारी दिए। रिपोर्ट आउन चार/पाँच दिन लाग्नेछ।
सामुदायिक वनका सचिव रामकृष्ण अधिकारीका अनुसार मरेका नौ मृगमध्ये एक वटा बच्चा पनि रहेको छ। तोरीमा विषादी अत्याधिक प्रयोग भएको आशंका उनीहरूले पनि गरेका छन्।
यसअघि रजहर क्षेत्रमा काउली परीक्षण गर्दा ९८ प्रतिशत विषादी अवशेष फेला परेको हुँदा त्यही अवस्थाको पुनरावृत्ति हुनसक्ने सचिव अधिकारीको भनाइ छ। भेटेरिनरी तथा कृषि कार्यालयले किसानलाई विषादीका जोखिमबारे पर्याप्त सचेतना नदिएको गुनासो पनि उठाइएको छ।
निकुञ्जको तारजाली भत्किएको स्थानबाट मृग खेततर्फ प्रवेश गरेको पाइएको छ। त्यही बाटोबाट गैँडा पनि बारीमा आउने गरेको र मृग बाघको डरले प्रायः गैँडाको साथमा हिँड्ने गरेको बताइएको छ।
तीन वर्षअघि पनि यही स्थानमा १५ वटा मृग मरेको घटना भएको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस