after_navbar

भोटेकोशी बाढी: करिब १६ लाख मानिस प्रभावित


२१ घण्टा अगाडि


काठमाडौ,१७ भदौ । एक साताअघि बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट करिब १६ लाख मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित तथा धादिङ, गोरखा र चितवनलाई मध्यम प्रभावित जिल्लाका रूपमा वर्गीकरण गरिएको छ।

प्राधिकरणका अनुसार बाढीमा परी बुधबार बिहानसम्म १ हजार एकसय १४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्। ११ हजार ९९३ जनाको सकुशल उद्धार गरिएको छ। तीमध्ये ४ हजारभन्दा बढीको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन्।

खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोलीसमेत संयुक्त रूपमा परिचालन भएका छन्। विभिन्न स्वास्थ्य संस्थामा २९२ जना घाइतेको उपचार भएकामा १८२ जना डिस्चार्ज भइसकेका छन्।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङका १९ विद्यालयमा अध्ययनरत ६ हजार ९०१ विद्यार्थी प्रभावित भएका छन्। आठ विद्यालय पूर्ण र आठ विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने तीन विद्यालय मात्र सुरक्षित रहेको प्राधिकरणको तथ्याङ्क छ।

रसुवाका स्याफ्रुबेंसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, रसुवागढीस्थित टिमुरे हेल्थ डेस्क र मैलुङ सामुदायिक स्वास्थ्य एकाइ पूर्ण रूपमा ध्वस्त भएका छन्। गल्छीको बैरेनी अस्पताल र चरौंदी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आंशिक क्षति पुगेको छ।

भोटेकोशी बाढीले ४१ वटा पक्की पुल पूर्ण रूपमा बगाएको छ भने थप चार पुलमा क्षति पुगेको छ। नुवाकोटमा मात्रै १ हजार २६७ घर पूर्ण र १ हजार २५३ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। भोटेकोशी–त्रिशूली करिडोरको बाढी प्रभावित क्षेत्रमा ४ हजार ६८९ भवन जोखिममा परेको प्रारम्भिक अनुमान गरिएको छ।

रसुवाको अति प्रभावित गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका ३ हजार ७०२ घरधुरीका १४ हजार ४६१ नागरिक प्रभावित भएका छन्। उनीहरू सडक, विद्युत् र सञ्चार सेवाबाट विच्छेद भई अलपत्र अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ।

बाढीबाट रसुवागढी, रसुवा–भोटेकोशी, चिलिमे, लाङटाङ खोला, माथिल्लो त्रिशूली-२, माथिल्लो त्रिशूली-१, मैलुङखोला, माथिल्लो त्रिशूली-३ ए, माथिल्लो त्रिशूली-३ बी, मध्य त्रिशूली, त्रिशूली, देवीघाट र सुपर त्रिशूलीलगायत जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="