काठमाडौ,१७ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई शरीर थकित भयो भन्दै विश्राम लिने छुट नभएको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सङ्कटको घडीमा देशको नेतृत्वले आँसु नभई नागरिकलाई हिम्मत, आड र भरोसा दिनुपर्ने बताए। मन भक्कानिए पनि एकअर्कासँग बिलौना गर्ने समय नभएको उनको भनाइ थियो।
‘त्यही दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन। हामी लडिरहेका छौँ,’ प्रधानमन्त्री शाहले भने।
उनले आफ्ना सपना बुनिरहेका नानीबाबु तथा हाँसीखुसी जीवन बिताइरहेका आमाबुबा, दाजुभाइ र दिदीबहिनीलाई भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षणभरमै खोसेर लगेको बताए।
अकल्पनीय विपत्तिमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शाहले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अझै आफन्तको खोजीमा रहेका नागरिकको पीडा आफूले गहिरोसँग महसुस गरेको बताए।
‘यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा वज्रपात हो। बाढीमा परेका नागरिकको कारुणिक चित्कार सुन्दा मेरो छाती चिसो हुन्छ,’ उनले भने।
प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिकको जीवनरक्षाका लागि सरकारले गरिरहेका उद्धार, राहत तथा पुनःस्थापनाका कामबारे प्रतिनिधिसभालाई जानकारी गराएका हुन्।
प्रतिक्रिया दिनुहोस