after_navbar

सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर


३ घण्टा अगाडि


दाङ । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती, प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा जालसाजी मुद्दा दायर भएको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्ने विषयमा जारी गरिएको विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको दाबी गर्दै मंगलबार मुद्दा दायर गरेकी हुन्।

काफ्लेले दायर गरेको फिरादपत्रमा सभामुख घर्ती, प्रदेशसभा सचिव पुन मगर, सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, प्रदेशसभा सदस्य सन्तोष पाण्डे र अजयकुमार झालाई विपक्षी बनाइएको छ।

काफ्लेका अनुसार पार्टीको आधिकारिक निर्णय र अख्तियारीबिना लेटरहेड, छाप तथा पदाधिकारीको नाम प्रयोग गरेर पत्र तयार पारिएको थियो। सोही पत्रका आधारमा आफूलाई पदमुक्त गरिएको उनको दाबी छ। उनले विवादित पत्रको आधिकारिकता छानबिन गरी कीर्ते तथा जालसाजीमा संलग्नलाई कानुनी कारबाही गर्न र उक्त लिखत अमान्य घोषित गर्न माग गरेकी छन्।

मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिने विषयमा संसदीय दलको निर्देशन उल्लंघन गरेको आरोपमा काफ्लेमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो। त्यसक्रममा प्रदेशसभा सचिवालयले भदौ २४ गते उनको पद रिक्त भएको सूचना जारी गरेको थियो।

तर, उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी काफ्लेको पक्षमा अदालतले २०८३ असोज ६ गते निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले भदौ १ गते पार्टीको निर्णयअनुसार प्रदेश सरकारसम्बन्धी विश्वासको मत प्रक्रियामा निर्देशन पालना गर्न प्रदेशसभा सदस्यहरूलाई जानकारी गराएका थिए। पार्टीको निर्देशन उल्लंघन गर्दै मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिएको भन्दै सन्तोष पाण्डे, भण्डारीलाल अहिर, आदेश अग्रवाल र हेमा बेल्वासे केसीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको थियो। त्यसको जानकारी प्रदेशसभा सचिवालयलाई गराइएको थियो।

काफ्लेले भने सभामुख र प्रदेशसभा सचिवालयले जसपा नेपालको नेतृत्वसँग सम्पर्क नगरी निष्कासित सांसदहरूमाथि कारबाही नगरेको तथा पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएकी छन्। यस विषयमा विपक्षी बनाइएका व्यक्तिहरूको प्रतिक्रिया प्राप्त भएको छैन।

प्रतिक्रिया दिनुहोस

data-href="