after_navbar

तीन दिन भारी वर्षा र हिमपातको सम्भावना


१ घण्टा अगाडि


दाङ। नेपालमा पश्चिमी वायु र बंगालको खाडीमा विकसित चक्रवात ‘मोनथा’ को प्रभावका कारण कात्तिक १३ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्नेछ। अन्य प्रदेशका विभिन्न स्थानमा पनि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

बुधबार कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यतया बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

बुधबार राति देशभर सामान्यतया बादल लाग्ने अनुमान छ। कोशी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।

बिहीबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा अन्य हिमाली भूभागका धेरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।

बिहीबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्नेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपातसमेत हुन सक्ने पूर्वानुमान छ।

शुक्रबार पनि देशका अधिकांश स्थानमा बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

शुक्रबार राति पनि देशका अधिकांश हिमाली भूभागमा बादल लाग्ने तथा अन्य क्षेत्रमा सामान्यतया बदली रहने अनुमान छ। सातवटै प्रदेशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुन सक्नेछ। विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना छ।

शनिबार पनि सातवटै प्रदेशका हिमाली भूभागमा अधिकांश स्थानमा बादल लाग्नेछ भने अन्य भूभागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

यस अवधिमा तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने भएकाले मौसमको अवस्थाबारे अद्यावधिक जानकारी लिन विभागले जारी गर्ने सूचनामा ध्यान दिनु आवश्यक छ।

प्रतिक्रिया दिनुहोस

data-href="