जाजरकोट । भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर जाजरकोटमा एक पुरुष बेपत्ता भएका छन्। भेरी नगरपालिका-३ पिपलडाँडाका ४३ वर्षीय बबी शाह भेरी नगरपालिका-१ छोटेबगरस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार शाह साथीहरूसँग पिकनिक खान सोमबार दिउँसो करिब १२ बजे छोटेबगर पुगेका थिए। सोही क्रममा नदीमा पौडी खेल्न गएका उनी पानीको बहावले बगाएर बेपत्ता भएका थिए।
उनीसँगै पिकनिकमा गएका डिल्ली रावलले दिउँसो १ बजे प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए।
सूचना प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय रिम्नाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक राजेन्द्रबहादुर रानाको कमान्डमा ६ जनाको टोली घटनास्थल पुगेर खोजीमा जुटेको थियो।
बेपत्ता शाहको खोजीका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक विवेक रसाइलीको कमान्डमा आठ जना, अस्थायी प्रहरी पोस्ट रावतगाउँबाट दुई जना तथा सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर जाजरकोटबाट सात जनाको टोली परिचालन गरिएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भेरी नदी तथा आसपासका क्षेत्रमा खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय रिम्नाबाट करिब दुई किलोमिटर दक्षिण र जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट करिब १४ किलोमिटर पूर्वमा पर्छ।
प्रतिक्रिया दिनुहोस