काठमाडौ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जय शाहलाई सन् २०३० सम्मका लागि अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको छ। उनको नियमित कार्यकाल सकिन एक वर्ष बाँकी रहँदै आईसीसीले थप कार्यकालका लागि उनलाई चयन गरेको हो।
सन् २०२४ अगस्टमा पहिलोपटक आईसीसी अध्यक्षमा निर्वाचित भएका शाहको नियमित कार्यकाल सन् २०२७ मा सकिँदै थियो। तर, इन्डोनेसियाको बालीमा सोमबार बसेको आईसीसी सञ्चालक समितिको बैठकले उनलाई सन् २०३० सम्म अध्यक्षमा कायम राख्ने निर्णय गरेको जनाइएको छ।
पुनः अध्यक्षको जिम्मेवारी पाएकोमा शाहले आईसीसी सञ्चालक समितिप्रति आभार व्यक्त गरेका छन्। उनले क्रिकेटको दिगो विकासका लागि दर्शक, खेलाडी, व्यावसायिक साझेदार तथा अन्य सरोकारवाला निकायसँगको सम्बन्ध थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
त्यस्तै, सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने ग्रीष्मकालीन ओलम्पिकमा क्रिकेट समावेश हुनु यस खेलका लागि ऐतिहासिक उपलब्धि भएको उनले बताएका छन्। ओलम्पिकमा क्रिकेटको पुनरागमनले खेलको विश्वव्यापी विस्तारमा थप योगदान पुग्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस