काठमाडौ ।नेपाल*चीन सीमा कोरलानाकाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामा सात हजारभन्दा बढी विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन्।
मुस्ताङ भन्सार कार्यालयका अनुसार साउनमा एक सय, भदौमा एक हजार २५३ तथा असोज र कात्तिकमा पाँच हजार ६४७ गरी कुल सात हजार विद्युतीय सवारीसाधन आयात भएका हुन्।
गत आर्थिक वर्षमा उक्त नाकाबाट तीन हजार २२३ वटा इभी नेपाल भित्रिएका थिए। छोटो समयमै यति ठूलो सङ्ख्यामा विद्युतीय सवारी आयात भएको यो पहिलो पटक हो।
रसुवाको भोटेकोसीमा आएको बाढीका कारण गत भदौ १० गतेदेखि रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि कोरलानाकाबाट विद्युतीय सवारीसहित अन्य मालसामानको आयात बढेको भन्सार अधिकृत अमिन्द्र सिंहले जानकारी दिए।
यद्यपि, नेपाल भित्रिएका सवारीसाधन गन्तव्यसम्म पुर्याउन जोखिमपूर्ण सडक र दक्ष चालकको अभाव चुनौती बनेको छ। जाँचपास भएर गन्तव्यतर्फ लागेका दर्जनौँ विद्युतीय सवारीसाधन अझै सडकमा अलपत्र अवस्थामा रहेको भन्सार प्रमुखले बताए।
मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयको वार्षिक राजस्व सङ्कलन लक्ष्य नौ अर्ब रुपैयाँ रहेकामा चार महिनामै लक्ष्यभन्दा तीन अर्ब ५५ करोड १४ लाख रुपैयाँ बढी राजस्व सङ्कलन भएको हो।
भन्सार कार्यालयका अनुसार पहिलो चौमासिकमा चीनबाट ३० अर्ब नौ करोड नौ लाख रुपैयाँ बराबरका मालवस्तु आयात भएका छन्। विद्युतीय सवारी, लत्ताकपडा, कस्मेटिक सामग्री, विद्युतीय उपकरण, निर्माण सामग्री, फलफूल तथा खाद्यान्न मुख्य आयातित वस्तु हुन्।
त्यस्तै, सोही अवधिमा नेपालबाट २९ करोड ५२ लाख रुपैयाँभन्दा बढी मूल्यका वस्तु चीनतर्फ निर्यात भएका छन्। नेपालबाट मुख्यगरी हस्तकलाका सामग्री तथा अन्य नेपाली उत्पादन निर्यात भएको भन्सार अधिकृत सिंहले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस