काठमाडौ । सामाजिक सञ्जालको दुरुपयोग गरी नाबालिका तथा महिलाको चरित्र हत्या, दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ‘अपरेसन डिजिटल अनर’ अभियानअन्तर्गत एकै दिन देशका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा काठमाडौंका २६ वर्षीय आशिष तामाङ, ललितपुरका ३७ वर्षीय रोहित विक्रम राणा, भारतको बिहार घर भएका ३२ वर्षीय महमद फेसल एजाज, इलामका ३७ वर्षीय विमल दर्जी खत्री र म्याग्दीका ५६ वर्षीय दिलबहादुर मगर रहेका छन् ।
त्यस्तै, उदयपुरका २५ वर्षीय सुवास कार्की, सुर्खेतका ३२ वर्षीय चिरञ्जीवी सापकोटा तथा कास्कीबाट १५ र १६ वर्षका दुई किशोर पनि पक्राउ परेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकामध्ये केहीले फेसबुकमा नक्कली खाता खोली अश्लील तस्बिर तथा भिडियो तयार पारेर नाबालिका र महिलाको चरित्र हत्या गर्ने तथा ब्ल्याकमेल गर्ने गरेको खुलेको छ ।
पक्राउ परेकाहरूमाथि विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस