दाङ,२९ जेठ । दाङको तुलसीपुर स्थित बसपार्कमा कुटपिट भएको छ । कुटपिटबाट एकजना गम्भीर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्क ओरालोमा अपरिचित व्यक्तिहरूद्वारा भएको कुटपिटमा एक किशोर गम्भीर घाइते भएका हुन् ।
बिहीबार दिउँसो करिब साढे २ बजेतिर सल्यान कपुरकोट गाउँपालिका–३ घर भई हाल तुलसीपुरमा बसोबास गरिरहेका १८ वर्षीय प्रेम बुढाथोकी र उनका साथी किरण घर्ती पैदल हिँडिरहेका बेला दुई अपरिचित व्यक्तिहरूले बाटो छेकेर पैसा मागेका थिए। पैसा दिन अस्वीकार गरेपछि ती व्यक्तिहरूमध्ये एकले बुढाथोकीको निधारमा आक्रमण गरी फरार भएका थिए।
गम्भीर चोट लागेका बुढाथोकीलाई तत्कालै साथी किरण घर्तीले तुलसीपुरको सीटी हस्पिटल पु¥याएका थिए। प्रारम्भिक उपचारपछि बोल्न नसक्ने अवस्थामा देखिएपछि उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर राना मगरको नेतृत्वमा सात जनाको टोली परिचालन गरिएको थियो। अनुसन्धानको क्रममा तुलसीपुर–७ गैरापातुका १८ वर्षीय शौरव नेपालीलाई नियन्त्रणमा लिइएको र अर्का एक फरार रहेको प्रहरीले जनाएको छ।
प्रहरीले शंकास्पद व्यक्तिबाट प्रारम्भिक सोधपुछ गरिरहेको र फरार व्यक्तिको खोजी तीव्र पारिएको जानकारी दिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस