मनाङ,२३ कार्तिक । कार्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिकको शव सशस्त्र प्रहरीले फेला पारेको छ।
फेला पर्नेमा ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्सा कुमारी पटेल रहेका छन्।
सशस्त्र प्रहरीका अनुसार उनीहरू मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलमा बसोबास गर्दै आएका थिए। कार्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जाँदै हिँडेका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए।
सम्पर्क टुटेपछि ग्याल्सेन होटलले सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो। प्रारम्भिक खोजीमा उनीहरू नभेटिएपछि कार्तिक २३ गते सशस्त्र प्रहरी नायब उपरीक्षक हिरा बहादुर जिसीको कमाण्डमा खटिएको पर्वतीय उद्धार टोलीले उनीहरूको शव फेला पारेको हो।
टोलीले मलेरिपा गुम्बाबाट करिब सय मिटर माथि हिउँले पुरिएको अवस्थामा उनीहरूको शव भेटेको जनाएको छ। शवलाई घटनास्थलबाट तल झार्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस