काठमाडौं,१४ चैत। नयाँ संसदको अधिवेशन आगामी चैत १८ गतेका लागि डाक्ने तयारी गरिएको छ।सरकारले अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई पत्र लेखेपछि राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ।
सामान्यतया अधिवेशन आह्वान गर्दा कम्तीमा एक साताको समय दिइने प्रावधान रहेको छ। अधिवेशनको पहिलो बैठकमा राष्ट्रपतिले आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, सरकारले पठाएका महत्वपूर्ण पत्रहरू प्रस्तुत गर्ने तथा दलका नेताहरूलाई शुभकामना मन्तव्यका लागि समय दिने अभ्यास रहँदै आएको छ।
संसदको पहिलो बैठक सिंहदरबारमै बस्ने तयारी गरिएको छ। नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराइएको हलमै बैठक सञ्चालन गरिनेछ।
नेपालको संविधानको धारा ९३ अनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था रहेको छ।
यसै व्यवस्थाअनुसार राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै एक सदनको अधिवेशन आह्वान गर्ने प्रावधान रहेको छ।
प्रतिक्रिया दिनुहोस