विराटनगर,२४ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा एमालेबाट सहभागी भएका मन्त्रीहरूलाई परिवर्तन गर्ने अन्तिम तयारी गरेका छन्।
एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईका अनुसार पार्टीले मुख्यमन्त्रीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्न निर्देशन दिइसकेको छ।
‘हामीले मुख्यमन्त्रीलाई लामो समयअघि नै मन्त्रिपरिषद् पुनः गठन गर्न भनेका थियौं,’ राईले बताए, ‘अब छिट्टै पुनर्गठन हुने सम्भावना छ।’
उनका अनुसार एमालेको निर्णयअनुसार पार्टीका सबै मन्त्रीहरूलाई परिवर्तन गर्ने तयारी भएको छ।
‘कांग्रेसले गरेन भने पनि एमालेका मात्रै भए पनि सबै मन्त्री परिवर्तन हुन्छन्,’ राईले स्पष्ट पारे।
यस्तै, एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले पनि छिट्टै मन्त्रीमण्डल परिवर्तन हुने बताए।
‘मुख्यमन्त्रीको तयारी भइसकेको छ,’ उनले भने, ‘कांग्रेसले नमाने पनि एमालेका मन्त्रीहरू फेर्ने योजना छ।’
हाल एमालेबाट प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, सामाजिक विकास मन्त्री पाँचकर्ण राई, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी र राज्यमन्त्री सिर्जना राई रहेका छन्।
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारी २०८१ मंसिर १७ गते मात्र नियुक्त भएका हुन्। यसअघि सो पदमा रहेका लिलाबल्लभ अधिकारीले अवैध रूपमा जापान पुगेको घटना सार्वजनिक भएपछि राजीनामा दिएका थिए।
हाल प्रदेश सरकार कांग्रेस–एमाले गठबन्धनमा आधारित छ। कांग्रेसको तर्फबाट भूपेन्द्र राई भौतिक पूर्वाधार विकास, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री र भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीका रूपमा रहेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस