काठमाडौ,२८ कार्तिक । सभामुख देवराज घिमिरेले असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरिँदा देश थप संकटमा परेको बताउँदै छिटोभन्दा छिटो संसद् पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका छन्।
शुक्रबार आफ्नै निवासमा पत्रकारहरूसँग कुरा क्रममा उनले सर्वोच्च अदालतले पुनर्स्थापनाको मुद्दालाई चाँडो सुनुवाइमा लैजानुपर्ने आवश्यकता औँल्याए।
घिमिरेका अनुसार कानुनी, व्यवहारिक तथा वर्तमान राजनीतिक अवस्थाले पनि संसद् पुनर्स्थापना नै समाधानको मुख्य आधार हो। उनले जननिर्वाचित संस्थामाथि गरिएको विघटनले मुलुक समस्यातर्फ धकेलिएको टिप्पणी गर्दै भने, “संसद पुनर्स्थापना गरेर संविधान संशोधनमार्फत जेनजी आन्दोलनका मागलगायत अन्य समस्याहरू समाधान गर्न सकिन्छ।”
सभामुख घिमिरेले प्रधानमन्त्री वर्तमान संविधानको दृष्टिका आधारमा अयोग्य भएको समेत आरोप लगाए। संविधान संशोधन गर्नुपर्ने विषयमा राजनीतिक सहमति र छलफल आवश्यक रहेको उनको भनाइ छ।
झापा पुगेका उनले आफ्नो क्षेत्रका गोकुल जोशी मार्ग, हर्कलाल मार्गलगायत सडक पूर्वाधारको अनुगमन गरे।
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका बिर्तामोड नगरपालिका, इलाका प्रहरी कार्यालय अनारमणि, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादीको जिल्ला कार्यालय तथा यातायात कार्यालयहरूको समेत स्थलगत निरीक्षण गरिएको सचिवालयका हिमाल मैनालीले जानकारी दिएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस