काठमाडौ,१३ चैत । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की आज बालुवाटारबाट धापासीस्थित निजी निवासमा फर्किएकी छन्। नवनियुक्त प्रधानमन्त्री वालेन्द्र साह (बालेन)ले शपथ ग्रहण गरेलगत्तै कार्की बालुवाटारबाट बाहिरिएकी हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कार्कीले सार्वजनिक जिम्मेवारीको एक महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको उल्लेख गरेकी छन्। कठिन परिस्थितिमा राष्ट्रको नेतृत्व गर्नुपरेको स्मरण गर्दै उनले सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सफल भएको बताएकी छन्।
उनले लोकतन्त्रप्रति जनताको विश्वास र सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाएको उल्लेख गर्दै जननिर्वाचित नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा खुसी लागेको जनाएकी छन्। साथै नयाँ पुस्ताको ऊर्जावान् नेतृत्वले देशलाई समृद्ध र स्थिर भविष्यतर्फ लैजाने विश्वास व्यक्त गरेकी छन्।
यस क्रममा उनले नागरिक, सहकर्मी तथा सरोकारवालाप्रति आभार व्यक्त गरेकी छन्।
गत भदौ २७ गतेदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी कार्कीले ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पूरा गर्दै नवनिर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण गरेकी हुन्।
प्रतिक्रिया दिनुहोस