after_navbar

कांग्रेस संस्थापन पक्षको अडानः ‘निर्वाचनअगाडि कुनै पनि महाधिवेशन हुँदैन’


कार्तिक ३०, २०८२


काठमाडौ,२९ कार्तिक । कांग्रेस संस्थापन पक्षले आगामी निर्वाचनअघि पार्टीको कुनै पनि प्रकारको महाधिवेशन नगर्ने निर्णयलाई थप दृढ बनाएको छ। संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई १५औँ महाधिवेशनको तालिका ल्याउन सुझाव दिए पनि शनिबार बसेको संस्थापन पक्षीय भेलामा उनीहरू सहभागी भएनन्।

ad

सहमहामन्त्री महेन्द्र यादवका अनुसार भेला र पार्टीभित्रको छलफलको मुख्य निष्कर्ष भने यही हो—निर्वाचनअघि कुनै पनि महाधिवेशन गराउन हुँदैन। मंसिर १ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनका विषयमा होइन, आगामी निर्वाचनका प्रक्रिया तथा उम्मेदवार छनोट तयारीमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

यादवले भने, “निर्वाचनअगाडि महाधिवेशन गर्दा कांग्रेसलाई ठूलो क्षति हुन्छ। अहिले संसदीय बोर्ड गठन, क्षेत्रीय सिफारिस प्रक्रिया लगायत निर्वाचनका कार्यक्रम अघि बढाउनुपर्ने बेला हो।”

असोज २८ देखि सुरु भएको केन्द्रीय समिति बैठकले पदाधिकारी र सदस्यहरूको धारणा सुने पनि महाधिवेशनबारे सहमति नबनेपछि कुनै निर्णय निकाल्न सकेको छैन। औपचारिक रूपमा कांग्रेसले निर्वाचनमा जाने घोषणा पनि अझै गरेको छैन। यसबीच पार्टीभित्रको एक खेमाले प्रतिनिधिसभा पुनर्स्थापनाको एजेन्डा अघि सारिरहेको छ।

उता, महासचिव गगन थापा र विश्वप्रकाश शर्मा भने विशेष महाधिवेशनको तयारीमा सक्रिय छन्। संस्थापन पक्ष महाधिवेशनमा सहमत नभएपछि थापाले मंसिर २७–२८ मा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्। मंसिर २७ बाट वर्तमान केन्द्रीय समितिको कार्यकाल समाप्त हुने भएकाले कार्यकाल बिना महाधिवेशन बढाउने प्रस्ताव मान्य नहुने उनको अडान छ।

महाधिवेशन निर्वाचनअगाडि गर्ने कि पछि गर्ने भन्ने विवाद मिलाउन कार्यवाहक सभापति खड्काले बैठक तीन दिन स्थगित गरी दुवै पक्षसँग छलफल जारी राखेका छन्। संस्थापन पक्षका केही नेता सभापति शेरबहादुर देउवासँग परामर्शमा जुट्न थालेका छन्।

निर्णयमा ढिलाइ भएको भन्दै आफूलाई आलोचना गर्नेहरूलाई जवाफ दिँदै कार्यवाहक सभापति खड्काले सामाजिक सञ्जालमा लेखे, “हतारमा गलत निर्णय गर्नेभन्दा केही ढिला भए पनि एकता जोगाएर प्रतिकूल परिस्थितिमा सही निर्णय गर्नु आवश्यक छ।” उनले सबैलाई संयमता र धैर्य अपनाउन अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="