काठमाडौ,८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले कर्मचारी नियुक्ति विषयमा प्रकाशित–प्रसारित समाचारहरूबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आधिकारिक स्पष्टिकरण जारी गरेको छ ।
सोमबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री र सचिवालयले पारदर्शिता, मितव्ययिता र जवाफदेहिताका मानकलाई कडाईका साथ पालना गर्दै आएको उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार जेनजी आन्दोलनको बलमा बनेको यो सरकार राज्यकोषमा कम भार पर्ने गरी न्यून जनशक्तिबाट सचिवालय सञ्चालित हुँदै आएको छ । प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (११औँ संशोधन २०८१) अनुसार प्रमुख स्वकीय सचिव प्रधानमन्त्रीले नियुक्त गर्न पाउने र अन्य पदमा प्रमुख स्वकीय सचिवले नियुक्ति गर्न सक्ने व्यवस्था रहेको सचिवालयले स्मरण गराएको छ ।
विज्ञप्तिमा प्रधानमन्त्रीले अत्यन्त विश्वासिलो र पारिवारिक रूपमा सहयोग पुर्याउनसक्ने व्यक्तिलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेको उल्लेख छ । प्रधानमन्त्रीको परिवारमा श्रीमान् मात्र भएकाले वृद्ध उमेरको अवस्थाका कारण नजिक रहेर सहयोग गर्न सक्ने व्यक्ति आवश्यक भएको पनि स्पष्ट गरिएको छ । रातदिन खटिनुपर्ने जिम्मेवारीका कारण विश्वासिलो व्यक्तिको नियुक्ति गरिएको भन्दै यसलाई अनावश्यक रूपमा विवादित नबनाउन आग्रह गरिएको छ ।
सचिवालयले केही समाचारमा थर वा जातीय पृष्ठभूमि मिलेकै आधारमा नातेदार ठहर्याएर गरिएको प्रचारप्रति आपत्ति जनाउँदै त्यस्ता सामग्रीप्रति विश्वस्त नहुन पनि आग्रह गरेको छ ।
सचिवालयका अनुसार कार्यविधिमा ७ सल्लाहकार नियुक्त गर्न सकिने भए पनि हाल २ मात्र छन् । १९ विज्ञ कर्मचारीको दरबन्दी भएकामा ४ जनामात्र नियुक्त छन्, जसमा एक अवैतनिक रहेको उल्लेख छ । स्वकीय सचिवालयमा ४१ जनाको दरबन्दी भए पनि १४ जनामात्र कार्यरत रहेको र अहिले प्रधानमन्त्रीले आवश्यकताअनुसार २० जनाको सानो सचिवालयबाटै काम अघि बढाइरहेको सचिवालयले जनाएको छ ।
विज्ञप्तिमा सरकारले जेनजी आन्दोलनको मर्मअनुसार सुशासन, निष्पक्षता र भयरहित वातावरणमा चुनाव गराउन प्रतिबद्ध रहेको बताउँदै भ्रामक सामग्रीबाट ध्यान भंग गराउने प्रयासमा नपर्न जनसाधारणलाई अनुरोध गरिएको छ ।

© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस