दाङ, १९ पुस। ‘विद्यार्थीका रूपमा हामी केही गर्न सक्छौँ भन्ने विश्वास यस्ता प्लेटफर्मले जगाइदिन्छन्। जित–हारभन्दा पनि आफ्नो आइडिया बाहिर ल्याउन पाउनु नै हाम्रो लागि ठूलो उपलब्धि हो,’ – नवप्रवद्र्धन व्यवसायिक आइडिया प्रतियोगिताकी सहभागी प्रासना बस्नेत ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजना तथा ग्रीन फाउण्डेसन नेपालको आर्थिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा सहभागी बस्नेतले यस्ता प्लेटफर्मले युवालाई व्यवसायतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले यस कार्यक्रममार्फत कक्षाकोठामा सिकेका सिद्धान्तलाई व्यवहारमा उतार्ने अवसर प्राप्त भएको अनुभव सुनाइन्।
‘हामीले किवीको अचारसम्बन्धी आफ्नो योजना टेस्ट मार्केटिङ गर्दै प्रस्तुत ग¥यौँ। आफ्नै उत्पादन चखाउन पायौँ, प्रतिक्रिया लिन पायौँ,’ उनी भन्छिन्,– ‘अब कसरी अगाडि बढ्ने भन्ने स्पष्ट मार्गदर्शन पनि यहीँबाट पायौँ।’
उनका अनुसार यस्ता प्लेटफर्महरू निश्चित समयमै, विशेषगरी युवालाई लक्षित गरेर आयोजना गरिनु आवश्यक छ। ‘रिसर्च गर्दै जाँदा धेरै सम्भावनाहरू भेटिन्छन्, तर देखाउने ठाउँ नपाउँदा धेरै आइडिया हराएर जान्छन्,’ उनले बताइन्।
प्रासना बस्नेत सहभागी रहेको समूहले ‘प्रलबी किवी अचार’ शीर्षकमा प्रस्तुत गरेको व्यवसायिक योजना प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यसैगरी टिम ज्यालेजन न्युकेयर दोस्रो र इको ट्याक समूह तेस्रो स्थानमा रहेका छन्। निर्णायक समितिले आइडियाको नविनता, व्यवहारिकता, बजार सम्भावना र दीगो विकासलाई मूल्याङ्कनको आधार बनाएको थियो।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा सञ्चालन भएको प्रथम तुलसीपुर महोत्सव अन्तर्गत उक्त प्रतियोगिता आयोजना गरिएको हो। युवालाई व्यवसायतर्फ आकर्षित गर्दै स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले यस प्रकारको कार्यक्रम पहिलोपटक सञ्चालन गरिएको आयोजकले जनाएको छ।
यस किसिमका प्रतियोगिताले युवामा आत्मविश्वास बढाउनुका साथै उद्यमशील सोच, नेतृत्व क्षमता र नवप्रवर्तनशील दृष्टिकोण विकास गर्न सहयोग पुग्ने महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले बताए। उनले स्थानीय स्रोत, सीप र प्रविधिको प्रयोग गर्दै स्वदेशमै सम्भावना खोज्ने संस्कार बसाल्न यस्ता कार्यक्रम प्रभावकारी हुने सरोकारवालाहरूको धारणा रहेको बताए।
प्रतियोगितामा सहभागीहरूले स्वदेशी स्रोत, सीप र प्रविधिको प्रयोगमार्फत व्यवसाय विस्तार गर्ने अवधारणाहरू प्रस्तुत गरेका थिए। उनीहरूले दिगो विकासको अवधारणा, आधुनिक कृषि प्रणाली, हरितगृह (ग्रीन हाउस), खाद्य प्रशोधन, वातावरणमैत्री उत्पादन तथा व्यक्तिगत माग र आवश्यकतालाई सम्बोधन गर्ने किसिमका व्यवसायिक आइडियाहरू प्रस्तुत गरेका थिए।
प्रतियोगितामा १८ देखि ४० वर्ष उमेर समूहका १७ वटा युवा समूहले आफ्ना व्यवसायिक योजना तथा नवप्रवद्र्धन आइडिया प्रस्तुत गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस