रुपन्देही,१० चैत । रुपन्देहीको शुद्धोधन गाउँपालिका–१, सिसईमा १५ वर्षीय किशोरले ६० वर्षीया महिलाको हत्या गरेका छन्।
प्रहरीका अनुसार किशोरले चुरोट किन्न राति पसल खोल्न लगाएर विवाद हुँदा वृद्धा रेनु पटवारको हत्या गरेका हुन्।
घटना चैत २ गते राति करिब ११ बजेतिर भएको प्रहरीले जनाएको छ। चुरोट किन्ने क्रममा पैसाको विषयमा विवाद भएपछि किशोरले पसलमै रहेको कैँचीले टाउको, अनुहार र घाँटीमा प्रहार गरेका थिए।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले विवादपछि कैँची प्रहार गरी हत्या गरेर आरोपी फरार भएको बताए।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार पक्राउ परेका किशोर लागुऔषध सेवनकर्ता रहेका छन्। प्रारम्भिक बयानमा उनले लागुऔषध किन्न पैसा अभाव भएकाले चोरी गर्न गएको र देखेपछि आवेगमा हत्या गरेको बताएका छन्।
प्रहरीले घटनामा संलग्न किशोरलाई चैत ७ गते नियन्त्रणमा लिएको जनाएको छ। रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाउँमा लुकिछिपी हुने लागुऔषध कारोबार र अभिभावकको ध्यान नपुग्दा यस्ता घटना बढ्ने खतरा रहेको देखिएको छ।
प्रतिक्रिया दिनुहोस