after_navbar

नेपाली कांग्रेसको विशेष महाधिवेशन आज


पुष २७, २०८२


काठमाडौं,२७ पुस। नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । पार्टीले मध्याह्न १२ बजे महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको जनाएको छ ।

ad

महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता कार्य धमाधम भइरहेको कांग्रेसले जनाएको छ । उद्घाटनअघि नै प्रतिनिधिहरू महाधिवेशन स्थल पुगेर नाम दर्ता गरी परिचयपत्र लिइरहेका छन् भने कांग्रेस समर्थकहरू पनि कार्यक्रम स्थलमा उपस्थित भएका छन् ।

कार्यक्रम स्थलमा मञ्च व्यवस्थापनको काम भइरहेको पार्टी नेताहरूले बताएका छन् । महाधिवेशन स्थललाई कांग्रेसले आफ्ना पुराना नेताहरूको प्रतिमा लहरै राखेर सजाइएको उनीहरूको भनाइ छ ।

कार्यक्रम स्थलमा बिपी कोइराला, सुवर्णशम्शेर जबरा, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका प्रतिमा राखिएको कांग्रेसले जनाएको छ ।

सोमबारसम्म सञ्चालन हुने विशेष महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे गर्ने तयारी रहेको पार्टी स्रोतले जनाएको छ । उद्घाटनअघि काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी गरिएको पनि कांग्रेसले बताएको छ ।

विशेष महाधिवेशन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन गर्ने तय भएको कांग्रेसले जनाएको छ । आज उद्घाटनपछि बन्द सत्र सुरु हुने र बन्द सत्रको सभापतित्व जेष्ठ सदस्यले गर्ने व्यवस्था गरिएको बताइएको छ ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी पार्टी विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको माग गरेको कांग्रेस नेताहरूले बताएका छन् । सोही आधारमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएको उनीहरूको भनाइ छ । यद्यपि संस्थापन पक्षले भने विशेष महाधिवेशनलाई अस्वीकार गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="