दाङ,५ माघ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दाङका तीनवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।
पार्टी नेतृत्वले दाङ क्षेत्र नम्बर–१ मा मेटमणि चौधरी, क्षेत्र नम्बर–२ मा निर्मल आचार्य र क्षेत्र नम्बर–३ मा धनबहादुर मास्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेकपाका नेता मेटमणि चौधरीले तीनै क्षेत्रमा उम्मेदवार टुंगो लागेको जानकारी दिएका छन् । दाङ–१ बाट उम्मेदवार बनेका चौधरी लगातार निर्वाचन जित्दै आएका नेता हुन् ।
उनले २०७४ सालमा बाम गठबन्धनको समर्थनमा नेकपा एमालेबाट तथा २०७९ सालमा कांग्रेस–माओवादी केन्द्र गठबन्धनको बलमा नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।
यही क्षेत्रबाट उम्मेदवारीको दाबेदारी गरिरहेका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले टिकट नपाए बागी उम्मेदवारी दिने संकेत गर्दै आएका छन् । तर पार्टी नेतृत्वले चौधरीलाई नै उम्मेदवार बनाएको छ, जसले पार्टीभित्र असन्तुष्टि बढ्ने संकेत देखिएको छ ।
दाङ–२ बाट उम्मेदवार बनेका निर्मल आचार्य यसअघि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा दाङ क्षेत्र नम्बर–३ बाट नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका थिए ।
त्यस्तै, दाङ–३ बाट उम्मेदवार बनेका धनबहादुर मास्की हाल लुम्बिनी प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री हुन् ।
उनले २०७९ सालको निर्वाचनमा कांग्रेस–माओवादी केन्द्र–नेकपा एस गठबन्धनको समर्थनमा नेकपा माओवादी केन्द्रको तर्फबाट दाङ क्षेत्र नम्बर–३ (२) बाट विजय हासिल गरेका थिए ।
यता, नेकपा एमालेले दाङ क्षेत्र नम्बर–३ मा घनश्याम पाण्डेलाई उम्मेदवार बनाइसकेको छ भने क्षेत्र नम्बर–१ र २ मा अझै उम्मेदवार टुंगो लागेको छैन । नेपाली कांग्रेस दाङका कुनै पनि क्षेत्रमा उम्मेदवारी टुंग्याएका छैनन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस