दाङ, १४ माघ। नेपाली कांग्रेसका उम्मेदवारहरूले रुकुम पश्चिममा क्यूआर कोडमार्फत मतदाताबाट सुझाव संकलन गर्ने अभियान सुरु गरेका छन्। यस अभियानअन्तर्गत मतदाताले आफ्नो क्षेत्रका समस्या, आवश्यकता, विकासका प्राथमिकता तथा निर्वाचित भएपछि गर्नुपर्ने कामबारे सुझाव दिन सक्ने व्यवस्था गरिएको छ।
क्यूआर कोड स्क्यान गरेपछि खुल्ने गुगल फाराममार्फत मतदाताले आफ्ना सल्लाह, सुझाव र अपेक्षा सहजै राख्न सक्ने व्यवस्था मिलाइएको कांग्रेसका युवा उम्मेदवार राजु केसीले बताए। उनका अनुसार संकलित सुझावका आधारमा भविष्यका योजना र विकास कार्यक्रम तय गरिनेछ।
केसीले समृद्ध रुकुम पश्चिम निर्माण गर्ने लक्ष्यसहित विगतमा अधुरा रहेका विकासका काम पूरा गर्न मतदाताको सक्रिय सहभागिता आवश्यक रहेको बताए। व्यस्त मतदाताले पनि आफ्नो सुविधा अनुसार सार्वजनिक रूपमा क्यूआर कोडमार्फत सुझाव दिन सकून् भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको उनले स्पष्ट पारे।
बुधबारदेखि सुरु भएको यस अभियानलाई कांग्रेसले निर्वाचन प्रचारको महत्वपूर्ण अङ्ग बनाएको छ। समानुपातिक उम्मेदवार मानबहादुर नेपालीले क्यूआर कोडमार्फत प्राप्त सबै सुझाव तथा गुनासोलाई संकलन, विश्लेषण र एकीकृत गरी घरदैलो अभियानका क्रममा मतदातासँग प्रत्यक्ष छलफल र बहस गरिने जानकारी दिए।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रुकुम पश्चिममा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ युवा उम्मेदवार राजु केसी र समानुपातिकतर्फ मानबहादुर नेपालीलाई उम्मेदवार बनाएको छ।
एउटै निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एमालेका गोपाल शर्मा लगायतका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन्।
विगतका निर्वाचनमा निरन्तर जनार्दन शर्मा विजयी हुँदै आएको यस क्षेत्रमा यसपटक भने उनले झण्डै तीन दशक लामो प्रचण्डसँगको राजनीतिक सम्बन्ध टुंग्याउँदै एक्लै प्रतिस्पर्धामा उत्रिएका छन्। पूर्व माओवादी धारमा देखिएको विभाजनलाई अवसरका रूपमा लिँदै कांग्रेसले जित निकाल्ने रणनीतिसहित चुनावी प्रचार–प्रसार अभियानलाई तीव्र बनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस