काठमाडौँ ,१९ माघ। आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ।
निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ सकिएको छ। जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छपाइ नियमित रूपमा भइरहेको आयोगले जनाएको छ। समानुपातिकतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ यसअघि नै सम्पन्न भइसकेको छ।
त्यसैगरी, मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ। निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगअन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा सामग्री स्वीकृत गरी सार्वजनिक गरेको छ।
आयोगका अनुसार ती सामग्री आयोगको आधिकारिक फेसबुक, एक्स, टिकटक र युट्युबमार्फत प्रसारण गरिएको छ। यस्ता सामग्रीले निर्वाचनको स्वच्छता अभिवृद्धि गर्नुका साथै नागरिकलाई आधिकारिक तथा विश्वासनीय सूचना उपलब्ध गराई मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।
यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित कूटनीतिक नियोग तथा संयुक्त राष्ट्र सङ्घीय निकायका प्रमुख एवं प्रतिनिधिलाई ब्रिफिङ गरेको छ।
कार्यक्रममा आयोग र गृह मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा निर्वाचनको वातावरण, आयोगले गरेका तयारी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षणलगायत विषयमा जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस