after_navbar

अफ्रिकन स्वाइन फिभरको जोखिम : उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह


११ घण्टा अगाडि


काठमाडौँ,२९ माघ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सुँगुर/बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

ad

हालसम्म उक्त रोगविरुद्ध कुनै खोप उपलब्ध नभएकाले सुँगुर/बङ्गुर पालन फार्ममा कडा जैविक सुरक्षा (बायो–सिक्युरिटी) अपनाउन मन्त्रालयले अनुरोध गरेको छ। अस्वाभाविक रूपमा सुँगुर वा बङ्गुर मरेमा तत्काल संघ, प्रदेश वा स्थानीय तहका पशु सेवा केन्द्र तथा सम्बन्धित निकायलाई जानकारी गराउन पनि आग्रह गरिएको छ।

मन्त्रालयअन्तर्गत कृषि सूचना तथा प्रशिक्षण केन्द्रका डा. सञ्जीव पण्डितका अनुसार घरपालुवा सुँगुर/बङ्गुर तथा जङ्गली बँदेलमा विषाणुका कारण अफ्रिकन स्वाइन फिभर संक्रमण हुन्छ।

संक्रमित पशुमा १०४ देखि १०७ डिग्रीसम्म उच्च ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भागको छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने र छट्पटाउने जस्ता लक्षण देखिन्छन्।

उनले यो रोगका कारण पशुमा मृत्युदर उच्च हुने भए पनि मानिसमा भने नसर्ने स्पष्ट पारे। संक्रमण फैलिन नदिन केन्द्रले किसानलाई सन्देशमूलक सूचना प्रवाह गरिरहेको उनले बताए।

यस्ता लक्षण देखिएका सुँगुर/बङ्गुर वा तिनका पाठापाठी अन्य पशुसँग सम्पर्कमा आएमा तथा मासुजन्य वस्तु एक स्थानबाट अर्को स्थानमा ओसारपसार गर्दा संक्रमण सजिलै फैलिन सक्ने भएकाले विशेष सतर्कता अपनाउन डा. पण्डितले आग्रह गरे।

केन्द्रका अनुसार नेपालमा तीन वर्षअघि पहिलो पटक अफ्रिकन स्वाइन फिभर संक्रमण पुष्टि भएको थियो। काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा दश हजारभन्दा बढी सुँगुर/बङ्गुरमा संक्रमण फैलिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="