दाङ ,१६ चैत । घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ। हाल मोड तथा साँघुरा स्थानहरू खुला गर्ने काम भइरहे पनि सडकलाई चारलेनका रूपमा विकास गर्ने योजना रहेको सडक डिभिजन कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख दीपेन्द्र विष्टका अनुसार चालु आर्थिक वर्षमै सडक विस्तार सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ।
साँघुरो सडकका कारण विगतमा धेरै सवारी दुर्घटना हुने गरेको भन्दै मोड सुधार र सडक फराकिलो बनाएपछि यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ।
लमही–घोराही सडकखण्डका जोखिमपूर्ण मोडहरू कटान गरी दुवैतर्फको दृश्य देखिने बनाउने काम भइरहेको उनले बताए।
साँघुरा स्थानमा चौडाइ बढाउने, माटो कटिङ गर्ने तथा आवश्यक स्थानमा पर्खाल निर्माण गरेर सडक विस्तार भइरहेको छ।
घोराही उपमहानगरपालिका–३ कुइरेपानीदेखि लमही नगरपालिका–६ अर्जुनखोलासम्म करिब १७ किलोमिटर सडकखण्डमा विस्तारको काम भइरहेको जनाइएको छ।
सडक सुधार कार्यक्रमअन्तर्गत विभिन्न मोड सुधार, कटिङ तथा पर्खाल निर्माणका काम अघि बढाइएको छ।
लमहीको अर्जुनखोलादेखि घोराहीको चौपट्टा मन्दिरसम्म करिब २० करोड १३ लाख रुपैयाँ बराबरका तीन ठेक्का सम्झौता गरी काम भइरहेको प्रमुख विष्टले जानकारी दिएका छन्।
कुइरेपानीदेखि मसोटखोलासम्मको खण्ड श्री मुनाल–केवी–सुनिल एन्ड विजय जेभीसँग करिब १३ करोड ४६ लाख रुपैयाँमा र मसोटखोलादेखि अर्जुनखोलासम्मको खण्ड श्री इजी–अलकापुरी जेभीसँग करिब ६ करोड ८० लाख रुपैयाँमा सम्झौता गरी काम भइरहेको छ।
चालु आर्थिक वर्षमै सडक सुधार सम्पन्न गर्ने लक्ष्यका साथ काम तीव्र रूपमा अघि बढाइएको जनाइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस