after_navbar

विपन्न, दलित र जनजाति विद्यार्थीलाई सहुलियतमा पढाइने


६ घण्टा अगाडि


दाङ, ७ जेठ। घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित ग्रेट बुद्ध एकेडेमी र “घोराही बनाउ अभियान”बीच ३० जना विद्यार्थीलाई सहुलियत शुल्कमा कक्षा ११ र १२ अध्ययन गराउने सहमति भएको छ।

सहमति अनुसार एसईई उत्तीर्ण विद्यार्थीमध्ये १० जना विपन्न वर्ग, १० जना दलित र १० जना जनजाति समुदायका विद्यार्थीलाई लक्षित गरिएको छ। उक्त सहमति पत्रमा एकेडेमीका प्रिन्सिपल निमानन्द गैरे र अभियानका संयोजक सविन प्रियासनले हस्ताक्षर गरेका छन्।

यस योजना अन्तर्गत विद्यार्थीहरूले साइन्स र म्यानेजमेन्ट विषयमा वार्षिक ५ हजार रुपैयाँ शुल्कमा अध्ययन गर्न पाउनेछन्। कक्षा १२ सम्म पनि सोही शुल्क कायम रहनेछ र थप शुल्क तिर्नु नपर्ने जनाइएको छ।

प्रिन्सिपल गैरेका अनुसार नारायणपुर आसपासका क्षेत्रमा निम्न आय भएका दलित, जनजाति तथा अन्य समुदायका परिवारको संख्या बढी भएकाले उनीहरूका छोराछोरीलाई सहज रूपमा शिक्षा दिलाउने उद्देश्यले यस्तो योजना ल्याइएको हो। उनले इच्छुक विद्यार्थी तथा अभिभावकलाई विद्यालय वा अभियानसँग सम्पर्क गर्न आग्रह गरेका छन्।

निजी विद्यालय महँगो हुने आम बुझाइलाई चिर्दै विपन्न वर्गका विद्यार्थीलाई पनि अवसर दिन खोजिएको उनको भनाइ छ। यता अभियानका संयोजक प्रियासनले आर्थिक अभावका कारण उच्च शिक्षा लिन नसकिरहेका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयसँग सहकार्य गरिएको बताए। उनका अनुसार अत्यन्तै कमजोर आर्थिक अवस्था भएका केही विद्यार्थीको शुल्कसमेत अभियानले व्यवस्थापन गर्नेछ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="