काठमाडौ,१६ जेठ। सन् २०२६ को वसन्त याममा सगरमाथासहित विभिन्न हिमाल आरोहणका क्रममा हालसम्म ७ जनाको मृत्यु भएको छ।
पर्यटन विभागका अनुसार मृत्यु हुनेमा २ जना भारतीय आरोही पनि रहेका छन्। सगरमाथा आरोहण सफल गरेर फर्किने क्रममा भारतीय नागरिक अरुणकुमार तिवारी र सन्दीप आरेको ज्यान गएको हो।
त्यस्तै, खुम्बु आइसफल क्षेत्रमा ३५ वर्षीय गाइड विजय घिमिरेको यसअघि नै मृत्यु भएको थियो। उनी सोलुखुम्बुका निवासी हुन्।
यसअघि आधार शिविर नजिकै गाइड लाक्पा डेन्डी शेर्पाको लडेर मृत्यु भएको थियो। त्यस्तै फुरा गेल्जेन शेर्पाको पनि निधन भएको छ।
मकालु हिमाल आरोहणका क्रममा डेभिड रोबिनेक र जोहानसेन शेलीको पनि मृत्यु भएको विभागले जनाएको छ।
मृत्यु भएकामध्ये अरुणकुमार तिवारीको शव भने हिमालमै छाडिने भएको छ। परिवारले धार्मिक विश्वास, खर्च र कठिनाइका कारण शव उतार्न नसकिने भन्दै सगरमाथा क्षेत्रमै राख्ने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस