after_navbar

दाङमा एचआईभी संक्रमितको संख्या घट्दै


२१ घण्टा अगाडि


दाङ,१७ भदौ । दाङमा नयाँ एचआईभी सङ्क्रमितको सङ्ख्या निरन्तर घट्दै गएको छ। स्वास्थ्य कार्यालय दाङको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कले नयाँ सङ्क्रमण घट्दो क्रममा रहेको देखाएको हो।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा दाङमा ४२ जना नयाँ एचआईभी सङ्क्रमित पहिचान भएका थिए। यो सङ्ख्या आर्थिक वर्ष २०८१/८२ मा घटेर ३७ र २०८२/८३ मा ३१ जनामा झरेको छ।

नयाँ सङ्क्रमितको सङ्ख्या घटे पनि जिल्लामा एचआईभी सङ्क्रमितको कुल सङ्ख्या भने बढिरहेको छ। आर्थिक वर्ष २०८०/८१ मा ४२९ जना एचआईभी सङ्क्रमित रहेकामा २०८१/८२ मा ४५८ र २०८२/८३ मा ४८७ पुगेका छन्।

स्वास्थ्य कार्यालय दाङका क्षय, कुष्ठ तथा पोषण रोग फोकल पर्सन गजेन्द्र यादवका अनुसार एचआईभी सङ्क्रमितका लागि उपलब्ध एआरटी सेवामा रहेका व्यक्तिको सङ्ख्या पनि बढ्दै गएको छ। २०८०/८१ मा ४२९ जना एआरटी सेवामा रहेकामा २०८१/८२ मा ४५८ र २०८२/८३ मा ४८७ जना पुगेका छन्।

यादवले नागरिकमा एचआईभीसम्बन्धी सचेतना बढ्दै गएकाले नयाँ सङ्क्रमितको सङ्ख्या घट्नु सकारात्मक उपलब्धि भएको बताए। एचआईभी सङ्क्रमितको पहिचान गरी उपचारको दायरामा ल्याउने क्रमसमेत बढेको उनको भनाइ छ।

एचआईभीको जोखिम न्यूनीकरणका लागि नियमित परीक्षण, समयमै उपचार, सुरक्षित यौन व्यवहार र समुदायस्तरमा निरन्तर जनचेतना आवश्यक रहेको यादवले बताए।

दाङमा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा एचआईभी परीक्षणसँगै सङ्क्रमितलाई नियमित उपचार सेवा प्रदान हुँदै आएको छ।

स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा १९ हजार ४८१ जना गर्भवती महिलाको एचआईभी परीक्षण गरिएकोमा पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="