after_navbar

विशेषज्ञ चिकित्सक नहुँदा सुत्केरीको हेलिकप्टरबाट उद्धार


१२ घण्टा अगाडि


हुम्ला। जिल्ला अस्पताल हुम्लामा विशेषज्ञ चिकित्सकको अभाव भएपछि एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।जिल्लाको सर्केगाड गाउँपालिका -३, उनापानीकी २६ वर्षीया पुस्पा डिसीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

सुत्केरी व्यथाले थला परेपछि असोज १४ गते साँझ जिल्ला अस्पताल, हुम्ला पुर्‍याइएकी डिसीको स्वास्थ्य अवस्थामा जटिलता देखिएपछि असोज १५ गते साँझ ६ः३० बजे हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहराले जानकारी दिए।

बोहराका अनुसार गर्भमा रहेको शिशुले पेटभित्रै दिसा गरेपछि सुत्केरीको स्वास्थ्य अवस्थामा थप जटिलता देखिएको थियो। यस्तो अवस्थामा आवश्यक उपचार तथा सम्भावित शल्यक्रियाका लागि बेहोस बनाउने चिकित्सक आवश्यक पर्ने भए पनि जिल्ला अस्पतालमा उक्त जनशक्ति उपलब्ध नहुँदा उपचारमा कठिनाइ भएको उनका श्रीमान् जगत फडेराले गुनासो गरे।

जिल्ला अस्पतालमै आवश्यक उपचार सेवा उपलब्ध हुन नसकेपछि डिसीलाई थप उपचारका लागि जिल्ला बाहिर लैजानुपरेको हो। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उनलाई सुर्खेत लगिएको हो।

हुम्लामा विशेषज्ञ चिकित्सकको अभावका कारण जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलाले समयमै आवश्यक उपचार पाउन चुनौती भोग्दै आएका छन्। सामान्य प्रसूति सेवाबाहेक जटिल अवस्था तथा शल्यक्रियासम्बन्धी सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति नहुँदा बिरामीलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="