after_navbar

हापुरे आगलागीप्रति उद्योग वाणिज्य संघद्वारा दुःख व्यक्त


१ घण्टा अगाडि


दाङ। दाङको बबई गाउँपालिका-५ हापुरे बजारमा आगलागी हुँदा तीन पसलमा क्षति पुगेको घटनाप्रति तुलसीपुर उद्योग वाणिज्य संघले दुःख व्यक्त गरेको छ। संघले आगलागीपीडित व्यवसायीलाई सहयोग गर्न अपिल गर्दै पश्चिम दाङमा दमकलको व्यवस्था गर्न स्थानीय सरकारसँग माग गरेको छ।

संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कात्तिक ११ गते राति भएको आगलागीबाट व्यवसायीको सम्पत्तिमा क्षति पुगेको जनाएको छ। आगलागीबाट गौरी घर्तीले सञ्चालन गरेको सारिका शृङ्गार तथा गिफ्ट सप पूर्ण रूपमा जलेर नष्ट भएको छ। त्यस्तै, भूमप्रकाश शर्माले सञ्चालन गरेको ओम गंगा किराना पसल र सिकल कस्मेटिकमा समेत क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ।

आगलागीबाट प्रभावित व्यवसायीप्रति सहानुभूति व्यक्त गर्दै संघले उनीहरूलाई आवश्यक सहयोग र सहकार्य गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

संघका कार्यवाहक अध्यक्ष देवबहादुर केसीद्वारा जारी विज्ञप्तिमा आगलागी नियन्त्रणका लागि आवश्यक उपकरण र विपद् पूर्वतयारीको अभावले व्यवसायी तथा सर्वसाधारणको धनसम्पत्तिमा क्षति पुग्ने जोखिम बढिरहेको उल्लेख छ। यस्ता घटना न्यूनीकरण गर्न स्थानीय सरकार र सरोकारवाला निकायले गम्भीर ध्यान दिनुपर्ने संघको भनाइ छ।

पश्चिम दाङका विभिन्न स्थानमा आगलागीका घटनाबाट ठूलो क्षति भइरहेको भन्दै संघले स्थानीय सरकारलाई दमकल खरिद प्रक्रिया अघि बढाउन माग गरेको छ। साथै, आगलागीपीडित व्यवसायीलाई सहयोग गर्न दाताहरूलाई अपिल गरेको छ। निजी क्षेत्रबाट आवश्यक सहयोग र सहकार्य गर्न संघ तयार रहेको विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="