after_navbar

महोत्सव ‘पाठशाला’को रूपमा विकास हुनुपर्छ: मन्त्री न्यौपाने


फागुन ०१, २०८१


दाङ,१ फागुन। लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले मेला महोत्सव पाठशालाको रुपमा विकास हुनुपर्ने बताएका छन।

ad

आजदेखी तुलसीपुरमा सुरु भएको दोस्रो तुलसीपुर महोत्सव -२०८१ को उद्घाटनको अवसरमा मन्त्री न्यौपानेले मेला महोत्सव केवल मनोरञ्जनको माध्यम मात्र नभई ज्ञान, सीप र व्यवसाय प्रवर्द्धनको पाठशाला बन्नुपर्ने बताएका हुन् ।

प्रमुख अतिथिको रूपमा बोल्दै उनले यस्ता कार्यक्रमहरू अध्ययन, अनुसन्धान र व्यवसायिक विकासको थलो बन्न आवश्यक रहेको बताए।

‘मेला महोत्सवले स्थानीय कला, संस्कृति, तथा उद्योगलाई प्रवर्द्धन गर्दै सिकाइको अवसर प्रदान गर्नुपर्छ।उनले भने-‘ यी उत्सवहरूबाट युवाहरूलाई उद्यमशीलता, पर्यटन, र व्यवसायका अवसरबारे जानकारी दिन सकिन्छ।’

महोत्सवका माध्यमबाट व्यवसाय प्रवर्द्धनसँग जोड्दै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उपायहरू खोज्नुपर्नेमा जोड दिए।

पर्यटनको अपार सम्भावना बोकेको नेपाल अध्ययन, अनुसन्धान र प्रभावकारी योजनाको अभावका कारण विश्व पर्यटन नक्शामा अझै पछि परेको उनले बताउदै पर्यटन विकासका लागि दीर्घकालीन सोच, आधुनिक योजना, र लगानी अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।

देशमा प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, धार्मिक सम्पदा र साहसिक पर्यटनका सम्भावनाहरू धेरै भए पनि अनुसन्धान, प्रवर्द्धन र पूर्वाधारको अभावका कारण ती क्षेत्रहरू अपेक्षाअनुसार विकास हुन नसकेको भन्दै यसप्रति सरकारले ध्यान दिन जरुरी रहेको उल्लेख गरे।

‘सिर्फ परम्परागत शैलीका कार्यक्रमहरूले मात्र पर्यटन प्रवर्द्धन सम्भव छैन। उनले भने -‘ अध्ययन, अनुसन्धान र ठोस कार्ययोजनासँगै बजारीकरणमा ध्यान दिए पर्यटनले देशको अर्थतन्त्रमा ठूलो योगदान दिन सक्छ।’

कार्यक्रम बोल्ने वक्ताहरुले स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्यमा पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन र अवसर सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए। विशेष गरी युवाहरूलाई पर्यटन व्यवसायमा आकर्षित गर्न नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरे।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का उपप्रमुख स्यानी चौधरी, राष्ट्रिय सभा पूर्व सदस्य कोमल ओलि, संविधानसभा सदस्य अनारकलि मिया, लुम्बिनी प्रदेश सांसद रेखा शर्मा लगायतले मेला महोत्सवले उत्पादनको विकास,प्रवर्द्धन,व्यापार व्यवसाय चलायमान हुने अपेक्षा लिएका छन् ।

महोत्सव उद्घाटनका अवसरमा नेपाली काङ्ग्रेस नेकपा एमाले नेकपा माओवादी लगायतका विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण तुलसीपुर चेम्बर अफ कमर्सका महासचिव दुर्गा शर्मा र सनोद थापाले गरेका थिए।

उद्घाटनका अवसरमा झाँकी र्याली पन्चेबाजा सहितको शोभा कलश यात्रा प्रदर्शन गरिएको थियो। उद्घाटन कार्यक्रमको स्वागत चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष कुमार खड्काले गरेका थिए।

महोत्सवमा विभिन्न स्थानीय उत्पादन, कृषि, हस्तकला, परम्परागत परिकार, तथा पर्यटन प्रवर्द्धनका स्टलहरू राखिएका छन्। स्थानीय व्यवसायी, उद्यमी, तथा सरोकारवालाहरूले पर्यटन र उद्योग प्रवर्द्धनका लागि यस्ता महोत्सवहरू निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिएका छन्।

महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ, जसमा सांस्कृतिक कार्यक्रम, कृषि प्रदर्शनी, तथा उद्यमशीलता प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रमहरू समावेश छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="