after_navbar

रुकुम पूर्वमा पुल र सडकमा क्षति


१ घण्टा अगाडि


रुकुम पूर्व । अविरल वर्षापछि आएको बाढीले रुकुम पूर्वमा झुलुङ्गे पुल बगाउनुका साथै सडक तथा विभिन्न संरचनामा क्षति पुर्‍याएको छ।

सिस्ने गाउँपालिका-५ धाउन्नेस्थित सानीभेरी नदीमा आएको बाढीले वडा नं. ७ नाथीगार्डस्थित पांगा-पोखरा जोड्ने झुलुङ्गे पुलको एकतर्फी भाग बगाएको छ। पुलमा क्षति पुगेपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ।

वर्षापछि आएको पहिरोका कारण मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध छ। भूमे गाउँपालिका-१ बडीगार्डखोलामा आएको बाढीले सडक कटान गरी क्षति पुर्‍याएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख डीएसपी खुमानन्द पाण्डेका अनुसार सडक मर्मतको काम भइरहेको र सोमबार बेलुकासम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। तर बागलुङलगायतका जिल्लामा समेत पहिरो गएकाले तत्कालै मध्यपहाडी लोकमार्ग पूर्णरूपमा सञ्चालनमा आउने अवस्था नरहेको उनले बताए।

बाढीका कारण सिस्ने गाउँपालिका-५ मा रहेको क्रसर उद्योग तथा आसपासका बस्तीसमेत जोखिममा रहेको प्रहरीले जनाएको छ।

यसैगरी, पुथाउत्तरगंगा गाउँपालिका-११ माथिल्लो सेराबालुवास्थित श्री उत्तरगंगा आधारभूत विद्यालयमा उत्तरगंगा नदीको बाढी पसेको छ। बाढीका कारण विद्यालयको ५५ मिटर पर्खाल भत्किएको छ भने हावाहुरीले कक्षा ३ र ५ का भवनका २० वटा जस्तापाता उडाएको छ।

विद्यालयमा पानी पस्दा ६ वटा कम्प्युटर, ३ वटा ल्यापटप, चार्जर, मोबाइल फोन, ह्वाइट बोर्ड, सोलार ब्याट्री, पुस्तक तथा रजिस्टरलगायतका सामग्रीमा क्षति पुगेको विद्यालय प्रशासनले जनाएको छ।

यस्तै, पुथाउत्तरगंगा गाउँपालिका-६ डिम्मुरगैरामा तातोपानी खोलामा आएको बाढीले स्थानीय ४५ वर्षीय बलमान रोकाको एकतले चारकोठे पक्की घर बगाएको छ। बाढीले उनका ३५ वटा कुखुरा र दुईवटा खसीसमेत बगाएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="