after_navbar

रुकुमपश्चिमका स्थानीय तहको बेरुजु एक अर्ब २५ करोड नाघ्यो


श्रावण २७, २०८२


रुकुमपश्चिम, २६ साउन । रुकुमपश्चिम जिल्लाका स्थानीय तहहरूको बेरुजु प्रत्येक वर्ष बढ्दै गएको छ । स्थानीय तहहरुले प्रचलित कानुनी प्रक्रिया नअपनाई गरेका आर्थिक कारोबारका कारण हरेक वर्ष बेरुजु रकम बढ्दै गएको हो । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०÷८१ सम्म जिल्लाभित्र रहेका छ वटा स्थानीय तहहरूको जम्मा बेरुजु रकम एक अर्ब २५ करोड ५८ लाख २२ हजार ५८० रुपैयाँ पुगेको छ।

ad

अघिल्लो आर्थिक वर्ष २०७९÷८० सम्म जिल्लाको कुल बेरुजु एक अर्ब २० करोड ८४ लाख ४२ हजार रुपैयाँ थियो। सो वर्ष नौ करोड १५ लाख रुपैयाँ फस्र्योट गरिएको भए तापनि, चालु आर्थिक वर्षमा मात्रै थप १३ करोड ८९ लाख १६ हजार ८१७ रुपैयाँ बेरुजु थपिएको छ, जसले गर्दा कुल बेरुजु अझै बढेको हो।

उक्त प्रतिवेदनअनुसार चौरजहारी नगरपालिकाको बेरुजु हाल ३० करोड ६० लाख ६५ हजार ५७ रुपैयाँ पुगेको छ। अघिल्लो वर्षसम्म २९ करोड ४८ लाख ६८ हजार रुपैयाँ बेरुजु रहेको यस पालिकामा चालु वर्षमा थप १ करोड ४६ लाख २१ हजार ५५२ रुपैयाँ बेरुजु थपिएको छ, भने फस्र्योट भने ३४ लाख २४ हजार ४९५ रुपैयाँ मात्र भएको छ।
आठबिसकोट नगरपालिकाको बेरुजु पनि उच्च देखिएको छ, जहाँ अघिल्लो वर्ष २६ करोड सात लाख २६ हजार रुपैयाँ बेरुजु थियो भने चालु वर्षमा तीन करोड ६९ लाख ८३ हजार १२८ रुपैयाँ थपिएर हालको बेरुजु २७ करोड ४५ लाख ३९ हजार ६२४ रुपैयाँ पुगेको छ।

यस्तै, मुसीकोट नगरपालिकाको बेरुजु २० करोड सात लाख ८६ हजार ५८९ रुपैयाँ पुगेको छ, जहाँ चालु वर्षमा २ करोड ३९ लाख १४ हजार ६४२ रुपैयाँ बेरुजु थप भएको हो। यसले जम्मा १२ लाख ४८ हजार ५३ रुपैयाँ मात्र फस्र्योट गर्न सकेको छ।
त्रिवेणी गाउँपालिकाको बेरुजु पनि उच्च छ, जसको अद्यावधिक रकम २२ करोड १९ लाख आठ हजार ६५६ रुपैयाँ पुगेको छ। अघिल्लो वर्षसम्म २० करोड १४ लाख २२ हजार रुपैयाँ रहेको यस पालिकामा यो वर्ष दुई करोड चार लाख ८६ हजार ६५६ रुपैयाँ बेरुजु थपिएको हो।

बाँफीकोट गाउँपालिकामा अघिल्लो वर्षसम्म १६ करोड ७८ लाख ६८ हजार रुपैयाँ बेरुजु थियो, जुन चालु आवमा थप दुई करोड ६८ लाख ८३ हजार १९ रुपैयाँ पुगेको छ। यद्यपि यस पालिकाले सबैभन्दा धेरै — ६ करोड ३३ लाख ४१ हजार ४१५ रुपैयाँ फस्र्योट गर्न सफल भएको छ। त्यसैगरी, सानीभेरी गाउँपालिकामा पनि बेरुजु रकम १२ करोड ११ लाख १३ हजार ५० रुपैयाँ पुगेको छ। अघिल्लो आवसम्म १० करोड ५४ लाख ३८ हजार रुपैयाँ रहेकोमा चालु वर्षमा १ करोड ६० लाख २७ हजार ८२० रुपैयाँ बेरुजु थप भएको छ, तर फस्र्योट भने तीन लाख ५२ हजार ७७० रुपैयाँ मात्र गरिएको छ।

बेरुजुका विषयमा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले बेरुजु देखिएको आधारमा त्यसलाई आर्थिक हिनामिनाको रूपमा बुझ्न नहुने बताउँदै समयमै फस्र्योट गरी नियमित गर्न आवश्यक रहेको बताए। उनका अनुसार कागजी प्रक्रिया र अभिलेख समायोजनमा ढिलाइ हुँदा बेरुजु देखिने गरेको छ । सुधार गरे बेरुजुको समस्या समाधान हुन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="