काठमाडौँ,२७ साउन । उपचारका क्रमममा कैदीको मृत्यु भएपछि उनका परिवार र आफन्तले अस्पताल अगाडि प्रदर्शन गरेका छन् । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा मंगलबार बिहान एक कैदीको उपचारका क्रममा मृत्यु भएपछि मृतकका परिवारजन र आफन्तले अस्पताल अगाडि प्रदर्शन गरेका हुन् ।
वीरगन्ज महानगरपालिका–२५ का २८ वर्षीय राहुल साह तुराहा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई पछिल्लो पाँच वर्षदेखि वीरगन्ज कारागारमा कैद सजाय भुक्तान गर्दै आएका थिए।
प्रहरी र स्थानीय प्रशासनको लापरवाहीका कारण राहुलको मृत्यु भएको भन्दै उनका आफन्तले नारायणी अस्पताल अगाडिको सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। उनीहरूले प्रहरी र प्रशासनविरुद्ध नाराबाजी गर्दै दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन्।
नारायणी अस्पतालका सूचना अधिकारी डा। उदयनारायण सिंहका अनुसार मंगलबार बिहान ८स्३० बजे कारागार प्रहरीद्वारा अस्पताल ल्याइएका राहुलको मुखबाट रगतसहितको फिज निस्किरहेको थियो। अवस्था निकै जटिल रहेकाले उनलाई आइसीयूमा राखेर उपचार गर्नुपर्ने देखिएको थियो तर अस्पतालमा बेड खाली थिएन।
डा। सिंहका अनुसार त्यसपछि डाक्टरहरूले उनलाई अन्यत्र रेफर गर्ने निर्णय लिएर कागज बनाइदिए। तर अवस्था झन् बिग्रिएपछि पर्साका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० गणेश अर्यालसँग समन्वय गरी नारायणी अस्पतालमै शैया व्यवस्थापन गरेर भर्ना गरियो। तर उपचारकै क्रममा उनको मृत्यु भयो। डा। सिंहका अनुसार मृत्युको कारण पल्मोनरी इडिमा ९फोक्सोमा पानी जम्ने० अर्थात् हार्ट फेलियर रहेको छ।
तर मृतकका आफन्तले प्रशासन र प्रहरीको लापरवाहीको आरोप लगाएका छन्। राहुलका काकाका छोरा जगदीश साह तुराहाका अनुसार डाक्टरले रिफर गरिसके पनि प्रहरी अधिकारीले सीडीओको आदेश भन्दै बिरामीलाई अन्यत्र लैजान रोके।
‘हामीले एम्बुलेन्स बोलाएर भाइलाई राखिसकेका थियौं। तर प्रहरी आएर भने– बाहिर लैजान पाइँदैन, सीडीओको आदेश छ। हामीले धेरै आग्रह गर्यौं तर कसैले नसुनेका कारण भाइले ज्यान गुमाउनु पर्यो,’ उनले भने।
उनले दोषीलाई कारबाही र परिवारलाई क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने चेतावनी दिएका छन्।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने बिरामीको अवस्था कारागारमै गम्भीर भएकाले समयमै अस्पताल पुर्याइएको र उपचारका लागि सबै सम्भव प्रयास गरिएको दाबी गरेका छन्।
‘बेड खाली थिएन। मैले नै फोन गरेर आइसीयूमा बेड व्यवस्थापन गरें। डाक्टरहरूले उपचार गरेकै हुन्। तर बिरामीको अवस्था अत्यन्त जटिल भएकाले जोगाउन सकिएन,’ अर्यालले भने।
घटनापछि नारायणी अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मृतकका आफन्त र प्रशासनबीच संवाद भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस