दाङ, भदौ ७ । थारू समुदायको अट्वारी पर्वको अवसरमा दाङसहित विभिन्न जिल्लामा सार्वजनिक बिदा घोषणा गरिएको छ। यस वर्ष अट्वारी पर्व भदौ ८ र ९ गते मनाइँदैछ।
लुम्बिनी प्रदेश सरकारले थारू बहुल जिल्ला दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा भदौ ८ गतेका लागि सार्वजनिक बिदा दिएको छ। त्यस्तै, दाङका विभिन्न स्थानीय तहहरूले भदौ ९ गते समेत बिदा घोषणा गरेका छन्।
घोराही उपमहानगरपालिकाले कार्यपालिकाको १७७औँ बैठकको निर्णयअनुसार भदौ ९ गते अट्वारी र तीज दुबै पर्वका अवसरमा सार्वजनिक बिदा दिएको जानकारी प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले दिएका छन्।
दंगीशरण गाउँपालिकाले पनि भदौ ९ गते अट्वारी बिदा दिने निर्णय गरेको अध्यक्ष सम्भु गिरीले जानकारी गराएका छन्। त्यस्तै, राजपुर गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढामार्फत सूचना जारी गर्दै भदौ ९ गते सार्वजनिक बिदा हुने जनाएको छ।
लमही नगरपालिकाले भने यस वर्ष भदौ १५ र १६ गते अट्वारी बिदा दिने घोषणा गरेको नगर प्रमुख जोखराज चौधरीले बताएका छन्।
हरेक वर्ष कृष्ण जन्माअष्टमी (अष्टिम्की) पछिको दोस्रो आइतबार, अर्थात् कुशे औँसीपछिको पहिलो आइतबार, थारू समुदायले अट्वारी पर्व मनाउँदै आएको परम्परा छ।
प्रतिक्रिया दिनुहोस