after_navbar

सिन्धुली जान खोजेका थिए रिना-रोशनी : जान नपाएपछि सम्पर्कविहीन


भदौ ११, २०८२


काठमाडौं,११ भदौ । तीजको रमझम गाउँदेखि सहरसम्म चलेको थियो। चेलीबेटीहरू नाचगानमा रमाइरहेका थिए। तर, त्यही दिन १६ वर्षीया रिना विक र १३ वर्षीया रोशनी थापा भने घर जान खोज्ने योजनासहित हराएझैँ बनेका छन्।

चितवनमा बस्दै आएका दुवै दिदी–बहिनीका छोरी तीजका लागि सिन्धुलीको इन्द्रावती गाउँपालिका–७ सितापोखरी घर जाने सोचमा थिए। रोशनीले परिवारसँग घर जाने अनुमति मागेकी थिइन्। तर परिवारले ‘दसैँमा मात्र जाऊ’ भन्दै अनुमति नदिएपछि उनी सुत्न गएकी थिइन्।

‘बिहान उठ्दा दुवै घरमा थिएनन्,’ रोशनीकी फुपू तारा मकाजुले भनिन्, ‘तीजमा घर जाने भनेर योजना बनाएछन् तर दसैँमा जाऊ भन्दा उनीहरू चुप लागेर बिहानतिरै हिँडेछन्।’

कक्षा सातमा अध्ययनरत रोशनी २०७२ सालदेखि भरतपुर महानगरपालिका–११ नहर चोकमा आमासँग बस्दै आएकी थिइन्। रिना भने भरतपुर–२ क्षेत्रपुरमा बस्थिन्। दुवै किशोरी भदौ १० गते (मंगलबार) बिहानदेखि नै परिवारको सम्पर्कमा छैनन्।

सम्पर्कविहीन भएपछि रोशनीकी आमा जिल्ला प्रहरी कार्यालय चितवन पुगेर खोजीको निवेदन दिएकी छिन्। प्रहरीका अनुसार उनीहरूको मोबाइल फोन अन्तिम पटक काठमाडौंको बाफल क्षेत्रमा सक्रिय देखिएको छ।

‘पहिलो दिन दिउँसो १२:५६ मा मोबाइल अन्तिम पटक बाफल क्षेत्रमा लोकेसन देखिएको थियो। त्यसपछि बन्द भएको देखिन्छ। आज बिहान ८:३० बजेतिर पुनः खोलेका छन् र त्यही वरिपरिको लोकेसन देखाएको छ,’ प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए।

खोजीका लागि त्यही क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। साथै काठमाडौं महिला सेलसँग पनि समन्वय गरिएको प्रहरीको भनाइ छ। दुवैको कल डिटेल निकाल्न अदालतमा अनुमति मागिएको छ।

प्रहरीले रिना र रोशनीलाई कतै देखेमा नजिकैको प्रहरी कार्यालयमा खबर गर्न सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="