बांके,१३ भदौ । बाँके जिल्लाका सात स्थानीय तहमा पशु चौपायामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण फैलिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका योजना अधिकृत तथा सूचना अधिकारी भोजबहादुर रावलका अनुसार जिल्लाभर एक महिनादेखि नै सङ्क्रमण देखिन थालेको हो।
हाल राप्तीसोनारी, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र डुडुवाका विभिन्न क्षेत्रमा सङ्क्रमण पुष्टि भएको छ। तर नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भने अहिलेसम्म रोग देखिएको छैन।
सूचना अधिकारी रावलले सङ्क्रमण बढ्दो अवस्थामा रहे पनि स्थानीय तहले तदारुकताका साथ उपचार गरिरहेको बताए। उनका अनुसार सबैभन्दा बढी गाई र गोरुमा समस्या देखिएको छ भने सङ्क्रमित पशुको यकिन सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ।
जानकी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख दिलबहादुर खड्काले किसानलाई अनुदानमा औषधि उपलब्ध गराइएको जानकारी दिए। “नेपालमै नपाइने कतिपय औषधि भारतको रुपैडिहाबाट ल्याएर आपूर्ति गरिएको छ,” उनले बताए।
त्यस्तै, राप्तीसोनारी गाउँपालिकाका पशु सेवा विभाग प्रमुख जयबहादुर कार्कीले वडा नम्बर १, २ र ६ मा सङ्क्रमण देखिएको उल्लेख गर्दै ‘भ्याक्सिन’का लागि विज्ञ केन्द्रसँग पत्राचार गरिएको जानकारी दिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस