after_navbar

व्यवसायी र प्रशासनको सहकार्यले मात्र सामाजिक अपराध नियन्त्रण सम्भवः प्रजिअ अर्याल


भदौ १, २०८२


दाङ, १९ भदौ । दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले व्यवसायी र प्रशासनको सहकार्यले मात्र सामाजिक अपराध नियन्त्रण सम्भव रहेको बताएका छन् । उनले जिल्लामा लागुऔषध र सामाजिक अपराध नियन्त्रण चुनौतीको विषय रहेको भन्दै निजी क्षेत्रले राज्य संयन्त्रलाई सहयोग गर्नुपर्ने बताए ।

ad

बिहीबार तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा प्रजिअ अर्यालले यस्तो बताएका हुन् । उनले निजी क्षेत्र सरकारको अभिन्न अंग भएको बताउँदै व्यवसायी र राज्य संयन्त्रबीच सहयोगी भूमिकाको आवश्यकता रहेको उल्लेख गरे ।

जिल्लाको शान्ति सुरक्षा र व्यवस्थापनका लागि बाह्य वातावरण र समन्वयको भूमिका उत्तिकै रहने भन्दै उनले सकारात्मक मार्गदर्शनको अपेक्षा पनि गरे । “काम के कसरी गर्ने भन्ने कुरा बाह्य वातावरण र समन्वयले निर्धारण गर्छ । मुलुकको विकासमा निजी क्षेत्रको ५० प्रतिशत योगदान रहेको छ, त्यसैले जिल्लाको सुरक्षा कायम गर्न र सामाजिक अपराध नियन्त्रण गर्न एकअर्काबीच सहयोग आवश्यक छ,” उनले भने ।

उनले सामाजिक अपराध नियन्त्रणमा प्रशासनको संयन्त्र मात्र पर्याप्त नभएकाले व्यवसायीको आचारसंहिता र सहयोग अपरिहार्य हुने बताए । चाडपर्वमा अनुचित मूल्यवृद्धि, कमसल वस्तुको बिक्री वितरण र यातायात समस्या नियन्त्रण गर्न व्यवसायी, सुरक्षा निकाय र प्रशासन मिलेर सुरक्षा संयन्त्र समिति बनाएर काम गर्ने तयारी भइरहेको जानकारी पनि दिए ।

तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले उपभोक्ताको हितमा प्रस्तुत हुन सके विवाद नहुने बताए । उनले जिल्लाको सुरक्षाका लागि व्यवसायीहरूको सहयोग निरन्तर रहँदै आएको जानकारी दिँदै, दाङ लागुऔषध कारोबारको ट्रान्जिट प्वाइन्ट भएकाले नियन्त्रण चुनौतीपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले खाद्य सुरक्षा चुनौती कम गर्न सामाजिक सञ्जालमार्फत सचेतना फैलाउने कार्य भइरहेको बताए । होटल व्यवसायलाई व्यवस्थित गर्ने र व्यवसायी मुदामा प्रशासनसँग सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

संघका प्रेस सल्लाहकार शरद रेग्मीले प्रशासनको ध्यान मुख्यतः बजार व्यवस्थापनमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमको सहजीकरण महासचिव केशवराज केसीले गरेका थिए भने स्वागत देव बहादुर केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="