काठमाडौं,२३ भदौ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज प्रतिपदा तिथिको श्राद्ध अपराह्नकालसम्म पिण्डदान गरेर सम्पन्न गर्नुपर्ने हुन्छ। समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले प्रतिपदा तिथिदेखि आश्विन शुक्ल प्रतिपदासम्म दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको जानकारी दिए।
धर्मशास्त्रअनुसार पितृलाई श्रद्धापूर्वक सम्झिने वैदिक सनातन परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ। यस समयमा पितृले आश गरी बस्ने विश्वास गरिन्छ। श्राद्ध नगरे अक्षम्य दोष लाग्ने भएकाले यो काललाई विशेष मानिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए।
उनका अनुसार जाताशौच, मृताशौच वा पत्नी रजस्वला भएका अवस्थामा बाहेक श्राद्ध छोड्न नहुने प्रावधान छ। कुनै कारणवश रोकिएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म वा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिनसम्म पनि गर्न सकिने विकल्प शास्त्रमा उल्लेख छ। अझै गर्न नसकेमा वृश्चिक सङ्क्रान्तिसम्म, वा धर्मसिन्धु र निर्णयसिन्धुजस्ता ग्रन्थमा उल्लेख भएअनुसार विशेष तिथि वा योगमा सम्पन्न गर्न सकिने व्यवस्था छ।
सोह्रश्राद्ध अपराह्नकालमै गर्नुपर्नेमा कतिपय पुरोहितले बिहानै गर्नुपर्ने सुझाव दिने गरेको पाइएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले स्पष्ट पारे।
धर्मशास्त्रविद्हरूका अनुसार, पितृ पक्षमा विधिपूर्वक श्राद्ध गर्नाले पितृ तृप्त हुने, पितृऋणबाट मुक्ति पाइने र आफ्ना धार्मिक दायित्व पूरा हुने विश्वास गरिन्छ। पितृ पक्ष सकिएलगत्तै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ।
प्रतिक्रिया दिनुहोस