after_navbar

काठमाडौंसहित पाँच सहरमा कर्फ्यू आदेश


भदौ २३, २०८२


काठमाडौं,२३ भदौ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध सडकमा उत्रिएका जेन–जी समूहको प्रदर्शन भड्किएपछि स्थानीय प्रशासनले देशभरका विभिन्न सहरमा कर्फ्यू आदेश जारी गरेको छ। सोमबार भएको प्रदर्शनमा काठमाडौंमा मात्रै एक दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको र दुई सयभन्दा बढी घाइते भएको विवरण सार्वजनिक भएको छ।

ad

काठमाडौं उपत्यकाबाहेक झापाको दमकसहितका स्थानमा अश्रुग्याँस प्रहार र गोलीसमेत चलेका छन्। प्रदर्शन अनियन्त्रित भएपछि काठमाडौं, पोखरा, इटहरी, बुटवल र भैरहवामा प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। यस अवधिमा भेला, प्रदर्शन, नाराजुलुस र कुनै पनि भीड जम्मा गर्न निषेध गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले संसद भवन, सिंहदरबार, प्रधानमन्त्री निवास, नारायणहिटी दरबार, राष्ट्रपति र उपराष्ट्रपति निवास क्षेत्रलाई लक्षित गर्दै सोमबार दिउँसो १ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। आदेशअनुसार शीतल निवास, लैनचौर, नारायणहिटी, सिंहदरबार, वालुवाटार र नयाँबानेश्वर क्षेत्रका विभिन्न चार किल्ला तोकिएका स्थानभित्र प्रवेश, सभा, जुलुस, प्रदर्शन र आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ।

यस्तै, कास्की जिल्लामा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पोखरा महानगरपालिकाभित्र सोमबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म अनिश्चितकालीन निषेधाज्ञा जारी गरेकी छिन्। निषेधाज्ञा क्षेत्रमा वाईचोकदेखि फिस्टेल गेट, मालपोत कार्यालयदेखि राष्ट्रबैंक चोकसम्मका स्थान पर्छन्।

जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि सोमबार अपरान्हदेखि लागू हुने गरी इटहरी उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। आदेशअनुसार हलगडा सेनाको ब्यारेकदेखि पारुहाङ चोक, मिलनचोकदेखि जुट विकास, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि बसपार्क, र कलङ्की मोडदेखि जनता बस्तीभित्र कर्फ्यू लगाइएको छ।

त्यस्तै, रुपन्देही जिल्ला प्रशासन कार्यालयले सोमबार अपरान्ह ४ बजेदेखि राति १० बजेसम्म बुटवल र भैरहवामा कर्फ्यू आदेश जारी गरेको छ। बुटवलमा पेट्रोल पम्प धागो कारखाना पुलदेखि बेलवास चोक, चिडिया खोला र मंगलापुरसम्म तथा भैरहवामा रोहिणी खोला पुलदेखि बेथरी पुल, बुद्धचोक र मेउडीहवासम्मको क्षेत्रमा कर्फ्यू जारी गरिएको छ। साथै, बेलहिया सडकखण्डको दायाँ–बायाँ १०० मिटरभित्र पनि आवतजावतमा प्रतिबन्ध लगाइएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="