काठमाडौं, २६ भदौ । सर्वोच्च अदालतको फुल कोर्टले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ थाल्ने निर्णय गरेको छ । साथै, अदालतहरूलाई चाँडै सञ्चालनमा ल्याउने तयारी समेत अघि बढाइएको छ।
जेनजी आन्दोलनका क्रममा देशभरका अदालतमा आक्रमण, तोडफोड र आगजनी हुँदा न्यायिक इतिहाससँग सम्बन्धित महत्वपूर्ण अभिलेख नष्ट भएको सर्वोच्चले जनाएको छ। आन्दोलन चर्किँदा सर्वोच्च अदालतको भवनमा समेत आगजनी र ध्वंसात्मक गतिविधि भएको स्मरण गराइएको छ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले जारी गरेको विज्ञप्तिमा यस्तो आक्रमण न्यायिक प्रणालीमाथि गम्भीर प्रहार भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “न्यायपालिकाको अखण्डता र मर्यादा कायम गर्न सबै तहका अदालतलाई सुचारु गर्ने दायित्व थप बढेको छ।”

अदालतले कानुनी शासन र स्वतन्त्र न्याय प्रणालीलाई चुनौती दिने यस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै, सुरक्षात्मक व्यवस्था कडा पार्ने र न्यायालयका दस्तावेजलाई सुरक्षित गर्ने दीर्घकालीन रणनीति बनाउनुपर्ने जनाएको छ। साथै, कानून व्यवसायी, कर्मचारी, सुरक्षाकर्मी र नागरिकलाई आवश्यक सहयोग गर्न आह्वान गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस