after_navbar

आजदेखि बडादसैँ सुरु : घटस्थापनाको साइत बिहान ९ः१३ बजे


असोज ०६, २०८२


काठमाडौं,६ असोज। नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म धुमधामका साथ मनाइन्छ।

ad

बडादसैँको पहिलो दिन घटस्थापना गर्ने परम्परा छ। आज बिहानै नित्यकर्म सम्पन्न गरी घरघरमा दियो, कलश र गणेश स्थापना गरी दुर्गादेवीको आह्वानसहित पूजा आरम्भ गरिएको छ। पूजाकोठा वा दसैँघरमा चोखो माटो वा बालुवा ल्याई गाईको गोबरले लिपपोत गरिएको स्थानमा विधिपूर्वक जौँ रोपेर जमरा राखिन्छ। विजयादशमीका दिन यही जमरालाई टीका–प्रसादसँगै ग्रहण गर्ने गरिन्छ।

धर्मशास्त्रविद्हरूका अनुसार जमरामा जौँबाहेक अन्य अन्न रोप्ने शास्त्रीय आधार छैन। जमरालाई समृद्धि तथा आयुर्वेदिक उपयोग दुवैका लागि महत्वपूर्ण मानिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको साइत बिहान ९ः१३ बजे तोकिएको छ। समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार सूर्योदयकालमै प्रतिपदा परेको हुँदा आजै घटस्थापना गर्नुपर्ने मान्यता छ।

दुर्गादेवीका महाकाली, महालक्ष्मी र महासरस्वती गरी तीन रूपको नवरात्रभर पूजा गरिन्छ। महाकाली शक्तिको, महालक्ष्मी ऐश्वर्य र धनधान्यको तथा महासरस्वती विद्या–बुद्धिको प्रतीक मानिन्छ।

नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्ने परम्परा छ। यही कारण यस पर्वलाई नवदुर्गा पूजा पनि भनिन्छ।

बडादसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिएको छ। सातौँ दिन फूलपाती भित्र्याउने, महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्ने तथा विजयादशमीका दिन टीका–प्रसाद ग्रहण गर्ने धार्मिक परम्परा रहिआएको छ।

यस अवसरमा देशभरका शक्तिपीठहरूमा विशेष पूजा–आराधना गर्ने परम्परा रहँदै आएको छ। गुह्येश्वरी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायतका शक्तिपीठमा दर्शन गर्न भक्तजनको ठूलो भीड लाग्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="