काठमाडौं,१० असोज । सरकारले दशैँ–तिहार लगायतका चाडपर्वमा हवाई भाडा नबढाउन सबै वायु सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले शुक्रबार चाडपर्वलाई लक्षित गरी यात्रुहरूलाई थप आर्थिक बोझ नपरोस् भनेर हवाई भाडादर नियन्त्रणमा राख्न भनिएको जानकारी दिए। उनका अनुसार, सरकारले तोकेको अधिकतम भाडाभन्दा कम दरमा टिकट उपलब्ध गराउन वायु सेवा कम्पनीहरूलाई अनुरोध गरिएको छ।
भुलका अनुसार, वायु सेवा कम्पनीहरूलाई बोलाएर अधिकतम भाडादरमा टिकट नबेच्न र कम्तीमा एक–दुई स्तर तल्लो श्रेणीको टिकट यात्रुलाई दिन आग्रह गरिएको छ। उदाहरण दिँदै उनले भने, “बुद्ध एयरले आन्तरिक उडानमा धनगढीको टिकट १२ हजार रुपैयाँभन्दा बढी नबेच्ने तयारी गरेको छ। माग बढी हुँदा तल्लो दरका टिकट चाँडै सकिन्छ तर पनि अधिकतम दरलाई नियन्त्रण गर्न निर्देशन दिएका छौं।”
प्राधिकरणले चाडपर्वमा यात्रुको भीड व्यवस्थापनका लागि अतिरिक्त उडानको व्यवस्था गरिएको पनि जनाएको छ। सामान्य अवस्थामा दैनिक १० हजार यात्रु आन्तरिक उडान गर्ने भए पनि दशैँ–तिहारमा यो सङ्ख्या बढेर १८ हजारसम्म पुग्ने भएकाले अतिरिक्त उडान आवश्यक भएको प्राधिकरणले स्पष्ट पारेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस