after_navbar

आजदेखि यमपञ्चक ‘तिहार’ सुरु


कार्तिक ०२, २०८२


काठमाडौँ, १ कार्तिक । उज्यालो र दीपावलीको प्रतीकका रूपमा मनाइने दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा सुरु भएको छ।

ad

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यो पर्व आज दिउँसो १:२३ बजेपछि त्रयोदशी तिथि लागेसँगै सुरु भएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज धनतेरस (धनत्रयोदशी) र यमदीपदान पर्व मनाइँदैछ।

समितिका सदस्य धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार आज बेलुकी त्रयोदशी तिथि परेकाले धनत्रयोदशी र यमदीपदान गर्ने दिन हो। आइतबार बिहान काग तिहार, सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन पर्नेछन्। सोमबार बिहान नरक स्नान गरी बेलुकी लक्ष्मीको पूजा गर्ने चलन छ।

मङ्गलबार कुनै विशेष पर्व नपरे पनि बुधबार गाईगोरु पूजा, गोवर्द्धन पूजा र आत्म (म्ह) पूजा गरिनेछ। यसै दिनबाट नेपाल संवत् ११४६ सुरु हुनेछ। बिहीबार भाइटीका मनाइनेछ, जसको शुभ साइत बिहान ११:३९ बजे तोकिएको समितिले जनाएको छ। भाइटीकाका बेला दाजुभाइ पश्चिम फर्केर र दिदीबहिनी पूर्व फर्केर बस्ने परम्परा रहिआएको छ।

तिहारलाई उज्यालो र माया–सम्बन्धको पर्व मानिन्छ। यस अवसरमा घरघरमा दीप बालिन्छ, शहरहरू झिलिमिली बत्तीले सजिन्छन्। भैलो र देउसी गीत–नृत्यका साथ मनाइने यो पर्वले आपसी स्नेह, भाइचारा र शुभकामनाको वातावरण सिर्जना गर्छ।

नेपाल प्रहरीले यस वर्ष पनि तिहार सभ्य र सुरक्षित तरिकाले मनाउन आग्रह गर्दै पटाका नपड्काउन र जुवा नगर्न जनचेतना फैलाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="