after_navbar

राष्ट्रिय सभा बैठक कृषि समितिको हलमा सञ्चालन गर्ने तयारी


कार्तिक १०, २०८२


काठमाडौँ,९ कार्तिक । संघीय संसद भवन नयाँबानेश्वरमा जेनजी आन्दोलनकारीले गरेको आगजनीका कारण क्षतिग्रस्त भएपछि राष्ट्रिय सभा बैठक सिंहदरबारस्थित कृषि समितिको हलबाट सञ्चालन गर्ने तयारी गरिएको छ।

ad

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार नयाँ संसद भवन अझै निर्माण सम्पन्न नभएकाले सिंहदरबारभित्रकै कृषि समितिको हल सर्वाधिक उपयुक्त विकल्पका रूपमा देखिएको हो।

उनका अनुसार, “२०७२ सालको भूकम्पले क्षतिग्रस्त पुरानो प्रतिनिधि सभा भवनमा प्रबलीकरणको काम भइरहेको छ। त्यसैले तत्कालका लागि कृषि समितिको हलमै बैठक सञ्चालन गर्ने तयारी भइरहेको छ।”

राष्ट्रिय सभाको बैठक सुरु भएपछि युट्युबमा प्रत्यक्ष प्रसारण गर्नुपर्ने र दर्शकहरू पनि आउने भएकाले न्यून लागतमा आवश्यक प्राविधिक तथा भौतिक पूर्वाधार तयार पार्ने विषयमा छलफल भइरहेको सचिवालयले जनाएको छ।

प्रवक्ता गिरीले भने, “नयाँ संसद भवन बनेपछि बैठक सर्ने भएकाले अहिलेको तयारी अस्थायी र न्यून लगानीमै सीमित राख्ने योजना बनाइएको छ।”

अघिल्ला वर्षहरूमा पनि स्थायी सभा भनिने ५९ सदस्यीय राष्ट्रिय सभाको बैठक कृषि समितिको हलमै सञ्चालन गरिएको थियो।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि २७ भदौमा प्रतिनिधि सभा विघटन गरिएको थियो। सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते नयाँ निर्वाचन गर्ने निर्णय गरिसकेको छ, भने राष्ट्रिय सभा भने यथावत् छ।

राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले अन्तर व्यवस्थापिक संघ ९आईपीयू०को १५१ औं महासभामा भाग लिन स्विटजरल्याण्डको जेनेभा प्रस्थान गर्नुअघि प्रधानमन्त्री सुशीला कार्कीसँग बैठक सञ्चालन स्थलबारे छलफल गरेका थिए। दाहाल स्वदेश फर्किएपछि यस विषयमा थप परामर्श हुने उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="