दाङ,१० कार्तिक। दाङमा एकातिर विवाह गर्नेको संख्या कम हुदै गएको छ । अर्कोतिर विवाहपछि सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्दो क्रममा छ। पारिवारिक बेमेल र समझदारीका कारण सम्बन्ध विच्छेदका घटनाहरू क्रमिक रुपमा बढ्दै गएको तथ्याङ्कमा उल्लेख छ।
तुलसीपुर उपमहानगरपालिकाको पञ्जीकरण शाखाको तथ्याङ्क अनुसार पछिल्ला वर्षहरूमा जोडी छुट्टिने दर तीव्ररूपमा बढ्नु समझदारी मुख्य कारण देखिएको छ।
पछिल्ला वर्षहरूमा जोडी छुट्टिने दर तीव्ररूपमा बढ्नु यसैको उदाहरण हो।उपमहानगरपालिकाको पञ्जिकरण शाखाका तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्म ६ सय २ जोडीले सम्बन्ध विच्छेद गरेका छन्। यही अवधिमा ५ हजार ८५ जोडीले विवाह गरेका थिए। यसअनुसार हरेक आठवटा विवाहमध्ये करिब एउटा सम्बन्ध अन्त्य हुँदै गएको देखिन्छ, जुन दर विगतका वर्षको तुलनामा उच्च हो।
आर्थिक वर्ष २०७९/८० मा २ हजार २२९ जोडीले विवाह गर्दा २०८ जोडीले सम्बन्ध विच्छेद गरेका थिए। सोही क्रममा २०८०/८१ मा १ हजार ४९६ विवाहका बीच १८७ जोडी छुटिएका छन्।
पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ हजार ३६० जोडीले विवाह गर्दा २०७ जोडीले वैवाहिक सम्बन्ध तोडेका छन्। विवाहको संख्या घट्दै गए पनि सम्बन्ध विच्छेदको संख्या स्थिररूपमा उच्च रहनुले समाजमा सहनशीलता र समझदारी दुवै कमजोर हुँदै गएको संकेत गर्छ।
स्थानीय निकायका अनुसार पारिवारिक असमझदारी, वैदेशिक रोजगारी, टाढाको बसाइ, र आर्थिक समस्याले सम्बन्ध टुट्ने प्रमुख कारण बनेका छन्।
वैदेशिक रोजगारीमा जानेहरूले लामो समय अलग बस्नुपर्ने हुँदा आपसी विश्वास र भावनात्मक सम्बन्ध कमजोर हुने गरेको बताइन्छ। कतिपय अवस्थामा आर्थिक समस्या र बेरोजगारीले पनि दाम्पत्य जीवनमा तनाव र विवाद निम्त्याउने गरेको छ।
सामाजिक विज्ञहरूका अनुसार अहिलेका पुस्तामा व्यक्तिगत स्वतन्त्रताको बोध बढेको छ, जसले असन्तुष्ट सम्बन्धलाई सहेर बस्नुभन्दा नयाँ बाटो रोज्ने मनोवृत्ति जन्माएको छ।
अघिल्ला पुस्ताले सहनशीलतालाई जीवनको मूल्य मानेका थिए भने अहिलेका पुस्ताले आत्म–सम्मानलाई प्राथमिकता दिन थालेका छन्। यही कारणले विवाह विफल हुँदा सम्बन्ध विच्छेदलाई अब लाजको होइन, व्यक्तिगत निर्णयको रूपमा लिइने गरिएको छ।
समाजशास्त्रीहरूको भनाइमा सम्बन्ध विच्छेदको बढ्दो दर असफल सम्बन्धभन्दा पनि चेतनाको नयाँ रुप हो। महिलाहरूमा आत्मनिर्णयको हकबारे सचेतना बढेसँगै उनीहरूले अन्यायपूर्ण र हिंसात्मक सम्बन्धबाट मुक्त हुन खोज्ने क्रम बढेको छ।
तुलसीपुरमा हरेक वर्ष सयौं जोडीको सम्बन्ध विच्छेद दर्ता हुनु केवल सामाजिक समस्या होइन, समाजको सोच, मूल्य र दृष्टिकोणमा भइरहेको परिवर्तनको प्रतिबिम्ब हो। विवाह अब केवल परम्परागत बन्धनको रूपमा होइन, समानता, समझदारी र सम्मानमा आधारित सहयात्राको रूपमा पुनर्विचार गर्नुपर्ने आवश्यकता यस तथ्यांकले स्पष्ट देखाउँछ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस