धनगढी,१२ कार्तिक । डडेल्धुराको आलिताल गाउँपालिका-३ मा रहेको कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडै विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सामुदायिक वनको कोषबाट १८ लाखभन्दा बढी रकम हिनामिना गरेको प्रमाणित भएपछि आयोगले मडैविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार मडैले १० मंसिर २०७८ मा समितिको बैठक माइन्युट नक्कली तयार गरी, सचिव र कोषाध्यक्षको जानकारीबिना किर्ते हस्ताक्षर गरेर चेकमार्फत रकम निकालेका थिए।
उनले १६ मंसिर २०७८ देखि २५ वैशाख २०७९ सम्म विभिन्न मितिमा ७ वटा चेकमार्फत २० लाख १५ हजार रुपैयाँ आफ्नै नाममा निकालेका थिए। समितिले सो कुरा पत्ता लगाएपछि मडैले २ लाख रुपैयाँ मात्र फिर्ता गरेका थिए।
रकम उनले डडेल्धुरा, धनगढी, अत्तरिया, चौमाला र महेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैंकका शाखाबाट निकालेका थिए।
आयोगका अनुसार समितिको निर्णयपत्र र बैंकमा दर्ता भएको निर्णयपत्रबीच फरक–फरक विवरण पाइएपछि, मडैले किर्ते निर्णय बनाई रकम निकालेको पुष्टि भएको हो।
फरेन्सिक परीक्षण, स्थलगत मुचुल्का र डिभिजन वन कार्यालय डडेल्धुराको प्रतिवेदनका आधारमा मडैको किर्ते सहिछाप र नक्कली कागजात तयार गरी रकम दुरुपयोग गरेको प्रमाणित भएको आयोगले जनाएको छ।
आयोगले मडैको कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर ठहर गर्दै १८ लाख १५ हजार रुपैयाँ बिगो रकम कायम गरेको छ।
सोही ऐनको दफा ३ (१) को देहाय (च) तथा (घ) अनुसार कैद र जरिवानाको सजाय माग गर्दै आज (बुधबार) विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस