काठमाडौ,१२ कार्तिक । डोटीमा एक शिक्षिकाले आत्महत्या गरेकी छिन्। विवाहका लागि दबाब दिँदै धम्की दिने विद्यालय निरीक्षकविरुद्ध प्रहरी अनुसन्धान अघि बढाएको छ।
डोटीको पूर्वीचौकी गाउँपालिका–१ की २७ वर्षीया जानकी खड्का घर नजिकै झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्। उनी बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा गणित शिक्षिकाका रूपमा कार्यरत थिइन्।
जानकीले यसअघि धनगढीस्थित डिस्कभरी स्कुलमा अध्यापन गर्दै शिक्षक सेवा आयोगमार्फत स्थायी नियुक्ति प्राप्त गरेकी थिइन्।
प्रहरीका अनुसार जानकीको सुसाइड नोटमा शिक्षा समन्वय इकाई डोटीका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) गणेशबहादुर रावलले विवाहका लागि दबाब दिँदै धम्की दिएको उल्लेख छ। विवाह प्रस्ताव अस्वीकार गरेपछि रावलले जानकीका भाइलाई फोन गरेर, “तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु,” भन्दै धम्की दिएका थिए।
रावलको निरन्तरको धम्कीपछि जानकीले गत १० कात्तिकमा घरभन्दा करिब ७ सय मिटर तल खोला किनारमा रहेको उत्तिसको रुखमा झुन्डिएर आत्महत्या गरेकी थिइन्।
मृतककी बुबा चक्रबहादुर खड्काले रावलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन्। जाहेरीपछि प्रहरीले ११ कात्तिकमा रावललाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो।
‘जाहेरी परेपछि तुरुन्तै पक्राउ गरी आज अदालतमा पेस गर्दैछौं,’ जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी दिपेन्द्र पालले जानकारी दिए।
प्रहरीका अनुसार मृतक खड्का अविवाहित थिइन् भने रावल विवाहित जीवनपछि सम्बन्ध विच्छेद गरी बसेका डिभोर्सी हुन्।
घटनास्थलबाट रावलका नाममा लेखिएको सुसाइड नोट फेला परेपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस