after_navbar

हिमपहिरोका कारण मनास्लु पुगेका केहि पर्यटक घाइते र बेपत्ता


कार्तिक १८, २०८२


काठमाडौ, १७ कार्तिक। केही दिनअघिको अविरल वर्षा र हिमपातका कारण मनास्लु क्षेत्रमा पदयात्रा र आरोहणका लागि पुगेका पर्यटकहरू कठिनाइमा परेका छन्। हिमपहिरो र ढुंगापातका घटनामा परेर केही पर्यटक घाइते भएका छन् भने केही बेपत्ता रहेका छन्।

ad

सामागाउँबाट फर्कंदै गर्दा गत शुक्रबार चुमनुव्री गाउँपालिका–३ न्याकफेदीमा माथिबाट खसेको लेदो पहिरोमा परेर चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा बेपत्ता भएकी छन्। स्थानीयको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजी कार्यमा खटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

यसैबीच, पाङबारी हिमाल आरोहणका क्रममा हिमपातमा फसेका दुई इटालियन नागरिक अझै सम्पर्कविहीन छन्। ६७ वर्षीय स्टेफानो फारोनाटो र ३७ वर्षीय एलेस्यान्ड्रो गपुटो सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ। उनीहरूसँगै गएका अन्य एक इटालियन र तीन नेपालीको भने उद्धार गरिएको छ।

प्रहरीका अनुसार उनीहरू यही कात्तिक १२ गतेदेखि सम्पर्कविहीन भएका हुन्। मौसम बिग्रिएपछि उनीहरूले क्याम्प बनाएर बसेका थिए तर त्यसपछि सम्पर्क टुटेको बताइन्छ। काठमाडौंबाट खटिएको पर्वतीय खोज तथा उद्धार टोली हेलिकोप्टरमार्फत साम्दो पुगेर खोजी कार्यमा जुटेको छ।

त्यस्तै, चुमनुव्री गाउँपालिका–५ बुर क्षेत्रमा माथिबाट खसेको ढुंगाले लागेर काठमाडौं टोखा नगरपालिका–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल गम्भीर घाइते भएका छन्। मौसम खराबीका कारण तीन दिनसम्म उद्धार हुन नसके पनि अन्ततः सिम्रिक एयरको हेलिकोप्टरमार्फत उनको उद्धार गरी काठमाडौं पुर्‍याइएको प्रहरीले जनाएको छ।

मौसम खुल्नासाथ मनास्लु क्षेत्रमा अलपत्र परेका अन्य पर्यटकहरूको उद्धार पनि धमाधम भइरहेको छ। हिजोआज हेलिकोप्टरमार्फत लगातार उद्धार उडान भइरहेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले पनि उद्धारमा सहयोग गरिरहेको छ।

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार कात्तिक २ देखि १६ गतेसम्म २ हजार ५३४ जना पर्यटक उक्त क्षेत्रमा पुगेका थिए। तीमध्ये करिब २ हजार जनाको उद्धार भइसकेको र अरूको उद्धार कार्य जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

यसैबीच, अविरल वर्षाका कारण चुमनुब्री गाउँपालिका–३ पाङसिङमा लेदो सहितको पहिरोले चार घरमा क्षति पुर्‍याएको छ। स्थानीय जुकबहादुर गुरुङ, सर्किनी गुरुङ, धन्डुक गुरुङ र कमला गुरुङका घर पहिरोले क्षतिग्रस्त भएका हुन्। पहिरोले केही पशुचौपाया र घरायसी सामग्री बगाएको र पीडितहरू हाल आफन्तको घरमा आश्रय लिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="