बर्दिया,२० कार्तिक । नयाँ पुल निर्माण कार्य स्रोत सहमति नहुँदा गुलरिया र बारबर्दिया नगरपालिकालाई जोड्ने बबई नदीमाथिको पुल अलपत्र परेको छ । आठ वर्षअघि बबई नदीमा आएको बाढीले पुरानो पुल बगाएपछि यो क्षेत्रका डेढ लाखभन्दा बढी बासिन्दा लामो समयदेखि सास्ती भोग्दै आएका छन् ।
डिभिजन सडक कार्यालय, नेपालगन्जका प्रमुख नरेन्द्रप्रसाद भट्टका अनुसार दुई वर्षअघि नयाँ पुल निर्माणका लागि स्रोत सहमतिको फाइल बुझाइएको भए पनि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच सहमति नजुट्दा काम अघि बढ्न सकेको छैन । “गत आर्थिक वर्षमा स्रोत सहमति नहुँदा प्रक्रिया रद्द भएको थियो,” भट्टले भने, “फाइल पुनः मन्त्रालय पठाएका छौं, सहमति मिल्नेबित्तिकै काम अघि बढ्नेछ ।”
तर सडक विभाग यस विषयमा अनभिज्ञ रहेको बताएको छ । विभागका सूचना अधिकारी इन्जिनियर श्यामबहादुर खड्काले स्रोत सहमतिको फाइल मन्त्रालयमै अलपत्र परेको जानकारी दिए ।
बबई नदीको जब्दीघाटस्थित पुरानो पुल पप्पु कन्स्ट्रक्सनले १६ करोड ६८ लाख रुपैयाँमा निर्माण गरेको थियो । सो पुल २०७४ साउन २८ गते भासिएको थियो । त्यसपछि पाँच वर्षसम्म ठेक्का तोडिन सकेन । २०७९ असोजमा आएको बाढीपछि भने आउजाउ पूर्ण रूपमा ठप्प भएको हो ।
पुल नहुँदा गुलरिया र बारबर्दिया नगरपालिकाबीचको २३ किलोमिटर लामो पक्की सडक उपयोगमा आउन सकेको छैन । यस क्षेत्रका बासिन्दा वर्षा याममा जोखिम मोलेर डुंगाबाट आवतजावत गर्न बाध्य छन् भने हिउँदमा काठेपुल र डुंगा प्रयोग गर्दा कर तिर्नुपर्छ । स्थानीयले राज्यले निरन्तर बेवास्ता गरेको र जनप्रतिनिधिहरूले आश्वासन मात्रै बाँडेको गुनासो गरेका छन् ।
बर्दिया क्षेत्र नम्बर १ का सांसद सञ्जय गौतमले नयाँ पुल निर्माणको माग गर्दै गत वर्ष आठ दिनसम्म अनशन बसेका थिए । तत्कालीन भौतिक तथा पूर्वाधार मन्त्री प्रकाश ज्वालाले एक महिनाभित्र टेन्डर गर्ने लिखित प्रतिबद्धता गरे पनि अहिले पनि त्यसको कार्यान्वयन भएको छैन ।
डिभिजन सडक कार्यालय, नेपालगन्जका अनुसार जब्दीघाटको भासिएको पुलदेखि करिब ५ सय मिटर उत्तरतर्फ नयाँ पुल निर्माणका लागि इस्टिमेट तयार भइसकेको छ । करिब १ अर्ब १९ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त पुल करिब ४ सय मिटर लम्बाइको हुने बताइएको छ ।
स्थानीयका अनुसार पुल निर्माण नहुँदा डेढ लाखभन्दा बढी नागरिकको दैनिक जीवन कष्टकर बनेको छ र विकासका अन्य योजनाहरू समेत प्रभावित भएका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस